लोकतन्त्र स्थापित गर्न मिडियाको भूमिका प्रभावकारी: मुख्यमन्त्री पौडेल
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारले सहि कुरालाई सहि मात्र लेख्दा पुग्ने अरु थपथाप गरेर बढाईचडाई गरेर समाचार बनाउन नपर्ने बताएका छन् ।
आज हेटौंडामा भएको नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले सरकारले गरेको कुरालाई गरेको नगरेको कुरालाई औंल्याउन वा सुझाव दिन आग्रह गरे । उनले गलत कुराहरुलाई गलत भनेर समाचार लेख्न समेत आग्रह गरे । उनले बागमती प्रदेशले पत्रकारको हकहितका लागि काम गरिरहेको बताए ।
उनले सरकार ‘समृद्ध नेपाल,सुखी नेपाली’ यात्रामा अघि बढेको भन्दै पत्रकारको भूमिका प्रतिपक्षी मात्र नभई सरकार पक्ष पनि रहनु पर्ने बताएका छन्। उनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सुरु गरेको जेष्ठ पत्रकार पेन्सन र पत्रकार उपचार कोषमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्रलाई स्थापीत गर्नका लागि मिडीयाको महत्वपुर्ण भुमिका हुने उहाँले वताउनुभयो ।
यसैगरि साधारण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले सरकारले पत्रकारलाई पनि सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने बताए । उनले सरकारले अन्य क्षेत्रमा सहुलियत दरमा ऋण उपलब्ध गराउने तर पत्रकारलाई ॠण किन नदिने भन्दै सरकारलाई कोरोनाको जोखिम पेशानै दाउमा राख्न बाध्य बनेका पत्रकारलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने बताए । उहाँले सरकारले मिडीयालाई के गर्यो खै भनेर प्रस्न समेत गर्नुभयो ।
यसैगरि साधारण सभामा पत्रकार महासंघ मकवानपुर शाखाले लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहेका ३ जना पत्रकारहरुलाई जनही नगद रु ८ हजार र प्रशंसापत्र सहित सम्मान गरेको छ । महासंघले राष्ट्रिय समाचार समितिका समाचारदाता कृष्णराम परियार, प्रयास साप्ताहिकका प्रकाशक कौशल पाण्डे र संचारकर्मी खेम बोलखेलाई पुरस्कृत गरेको हो । उनिहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बहादुर बानियाँले नगदसहित प्रशंसा पत्र प्रदान गरेका थिए ।
यसैगरि पत्रकार महासंघ मकवानपुरले जेष्ठ पत्रकारहरुका लागि स्थापना गरेको पेन्सन कोषमा सहयोग गरेको भन्दै हेटौंडा उपमहानगरपालिकालाई प्रशंसापत्र प्रदान गरेको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेहर हरी बहादुर महत, लगाएतले मन्तव्य राखेका थिए । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखे्रल, सचिब रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु कृष्ण गिरी, पुरुषोत्तम सुबेदी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साधारण सभा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईको सभादक्ष्यतामा भएको हो ।







