बागमती प्रदेशसभा वैठकः भ्रष्टाचार रोक्न सांसदहरुको माग

बैठकमा दुई विधेयकमाथि छलफल
जनपत्र
१३ माघ २०७६, सोमबार १७:३८

हेटौंडा । बागमती प्रदेशका प्रदेशसभाको आजको वैठकमा बोल्ने सांसदहरुले भ्रषचार रोक्नका लागि माग गरेका छन् । प्रदेशसभाका सदस्यहरुले सुशासन मुखमा नभई व्यवहारमा लागुहुनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशभित्र सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिने सांसदहरुले यस्तो बताएका हुन् ।

उनीहरुले भ्रष्टाचारको जालो हरेक क्षेत्रमा रहेको भन्दै यसको न्यूनिकरणमा जोड दिन प्रदेश सरकारले काम गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा न्हुक्षेनारायण श्रेष्ठ, सिर्जजना सैज्यु, रत्न ढकाल, रिना गुरुङ, विजया श्रेष्ठ केसी, शान्तिप्रसाद पौडेल, रमेश पौड्याल, रिता माझी, विराजभक्त श्रेष्ठ लगायतले नीतिगत भ्रष्टाचार बढिरहेको भन्दै यसलाई रोक्नु आवश्यक रहेको बताएका थिए ।

उनीहरुले कर्मचारी संयन्त्रलाई जवाफदेही बनाउन सकेमात्रै पनि सुशासन काम गर्न सहयोग पुग्ने बताएका थिए । विकास बजेट खर्च समेत नभईरहेको अवस्थामा जनताले कसरी सुशासनको महसुस गर्ने भन्दै सांसदहरुले प्रश्न गरेका छन् । राजनीतिक क्षेत्र र कर्मचारीतन्त्रतामा भ्रष्टाचार बढि हुने गरेको सांसदहरुको भनाई छ ।

त्यसैगरी, उपाध्यक्ष नियुक्तिका लागि ल्याईएको प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल पनि सकिएको छ । बागमती प्रदेश सभाको आज बसेको बैठकमा दुई विधेयकमाथि छलफल भएको छ । बैठकमा प्रदेशभित्र सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश दुध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ माथि छलफल भएको हो ।

प्रदेश सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले र प्रदेशमा दुध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले छलफलको लागि आईतबार बसेको प्रदेशसभा बैठकमा पेश गरेको थियो ।आज बसेको बैठकले ती दुबै विधेयकलाई विभिन्न समितिमा छलफलको लागि पठाउन स्वीकृति प्रदान गरेको छ ।

बैठकमा प्रदेशसभाका सदस्यहरुले उठाएको जिज्ञासालाई प्रदेशका मुख्यमन्त्री पौडेलको तर्फबाट आन्तरिक मामिलामन्त्री जम्मकट्टेलले प्रदेश सरकारले प्रशासनिक क्षेत्रमा कार्यरत उच्च तहदेखि सबै तहका कर्मचारीहरुलाई मर्यादीत जिम्मेवार बनाउँदै जनताप्रति सेवाभावले कार्यक्षमता प्रर्दशन गर्ने अटोट राखेका छन् ।

मन्त्री जम्मकट्टेलले सरकारले ल्याइएको सुशासन प्रत्याभूति गर्ने विधेयकलाई समानुकुल सुधार गरी जनताको मानवअधिकारको सम्बद्र्धन, शान्ति सुरक्षाको प्रबद्र्धन गर्दै भ्रष्टाचार निवारण गर्ने कार्यलाई तीब्रता प्रदान गर्ने लक्ष्यकासाथ सरकार अघि बढ्ने विश्वास व्यक्त गरे । त्यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रमा दुधजन्य पदार्थलाई गुणस्तरीयका साथ उत्पादन गर्नुका साथै कृषकलाई पशुपालनबाट आकर्षित तुल्याउन प्रदेशका विभिन्न स्थानमा धुलो दुधको उत्पादन गर्ने उद्योगको स्थापना गर्ने कार्यलाई तीब्रता दिएको बताए । प्रदेशसभाको अर्को बैठक माघ १७ गते शुक्रबार दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*