उपमहानगरद्वारा ट्राफिक व्यावस्थापन सम्वन्धी सामाग्री हस्तान्तरण
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ट्राफिक व्यावस्थापन सम्वन्धी विविध सामाग्री आज हस्तान्तरण गरेको छ ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मापसे चेक गर्ने व्रेथलाईजर सहितका सामाग्री हस्तान्तरण गर्नुभयो । आज एक कार्यक्रमका विच ट्राफिक व्यावस्थापनमा सहयोग गर्न सेफ्टी कोण २५ थान, प्लाष्टिक रोड व्यारिगेट २ थान, अलकोहल ब्रेथलाइजर एक थान, गोप्रो हिरो क्यामेरा १ थान, ट्राफिक कन्ट्रोल म्याग्नेटीक लाइट ५ थान, कार हुवील लक १० थान वितरण गरिएको मेयर महतले जानकारी दिनुभयो । उहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक हरि विष्णु ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।

ट्राफिक प्रहरीको एक थान पहिले भएको ब्रेथलाइजर पनि विग्रीएर थन्कीएका कारण साँझ सडकमा मापसे चेक गर्नुपर्दा सुघेर चेक गर्नुपर्ने भएपनि आजबाट भने सहज भएको ढकालले वताउनुभयो । मापसे सेवन गरेको होकी होइन भनेर चालकको मुखै नजिक गएर सुघेर जानकारी लिनुपर्ने बाध्यता थियो । तर, यो समस्या अव समाधान भएको उहाँले वताउनुभयो ।
उपमहाँनगरबाट प्राप्त सामाग्रीले ट्राफिक व्यावस्थापनमा निकै सहयोग पुग्ने ढकालले वताउनुभयो । अहिले हेटौंडा वजार क्षेत्रको ट्राफिक व्यावस्थापन गर्नका लागि सहयोग पुगोस भन्ने उदेश्यले विविध सामाग्री हस्तान्तरण गरिएको हो । उपमहानगरक्षेत्रमा ट्राफिक व्यावस्थापनका लागि उपमहानगरपालिकाले यसअघि पनि ट्राफिक प्रहरीलाई सहयोग गर्दै आएको छ ।
हेटौंडाको मुख्य वजार क्षेत्रमा ट्राफिक व्यावस्थापन गर्नका लागि सांकेतिक चिन्ह वनाउने लगायतका काम गरिदै आएको छ । मापसे चेक गर्ने ब्रेथलाइजरले अव चेकजाँच गर्नका लागि थप सहज हुने छ । कार्यक्रममा हेटौंडा २ का वडाअध्यक्ष हरि राउत, हेटौंडा ४ का वडाअध्यक्ष नविन सिग्देल लगायतकाको सहभागिता रहेको थियो ।







