हेटौंडाको सहिद स्मारकमा राष्ट्रपति भण्डारीसंगै राजदुतको लर्को

हेटौंडा । देशकै महत्वपुर्ण पर्यटकिय गन्तव्यका रुपमा विकास भएको हेटौंडाको सहिद स्मारकमा राष्ट्रपति विद्यादेवि भण्डारी आउनुहुने निश्चित भएको छ । उहाँले स्मारकको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गरिने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भण्डारीसंगै विभीन्न देशका राजदुतहरु पनि आउने भएका छन् । राजदुतहरुले शहिद स्मारक संगै, मकवानपुर गढी लगायतका पर्यटकिय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । स्मारकमा गरिने सवै कार्यक्रमको तयारी पुरा भएको स्मारक विकास समितिले जनाएको छ । स्मारकमा राष्ट्रपति आउनुहुने भएपछी सुरक्षा व्यावस्था कडा पारिएको छ । आजैबाट नेपाली सेना, नेपाल प्रहरी स्मारकमा तैनाथ गरिएको छ ।
बाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको पर्यटकिय स्थल सहिद स्मारकमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ । विभिन्न कालखण्डका सहिदको प्रतिमा राखिएको हेटौँडा उपमहानगरपालिका–११ स्थित पर्यटकीयस्थल सहिद स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको यही माघ १४ गते अनावरण गरिने भएको छ ।
स्मारमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ ।
सहिद सप्ताह अन्र्तगत माघ १४ गते प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको सहिद स्मारक विकास समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । सहिद सप्ताहको सातौं कार्यक्रम अन्र्तगत प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाको अनावारण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको उनले बताए ।
सहिद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर शालिक निर्माण गरको जनाएको छ । चारैजना प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको शालिक निर्माण भइसकेको समितिका कार्यालय सचिव रामचन्द्र न्यौपानेले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसका शीर्ष नेताहरुबाटै शालिक अनावरण कार्यक्रम सम्पन्न हुने गरी केही समयभित्रै प्रजातान्त्रिक पार्क उद्घाटन गरिने वताइएको छ।
यसअघि सहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । जसमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । यो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको थियो ।
स्तम्भ करिब एक करोढ ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । साथै स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसङ्घर्षमा सहिद भएका १२ सहिदको एउटै ढुङ्गामा सहिदको मुखाकृत कुदिएको छ ।
२०४६ सालको जनआन्दोलन पश्चात २०४७ साल श्रावण ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी सहिद स्मृति बाटिका नामाकरण गरिएको थियो । २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारक देशकै नमुना सहिद केन्द्र बन्न पुगेको छ ।
यहाँ वार्षिक पाँच लाख बढि आन्तरिक र बाह्य पर्यटक आउने गरेको समितिका सचिव न्यौपानेले बताए । स्मारकमा यसअघि नै मदन भण्डारीको प्रतिमा निर्माण भइसहेको छ ।