गाँजा ओसार्दै गरेको एमुलेन्स हेटौंडाबाट नियन्त्रणमा, तीन जना पक्राउ
हेटौँडा । मकवानपुरबाट भारत तर्फ लागूऔषध गाँजा, चरेश, अफिम निकासी हुने क्रम निकै वढेको छ । त्यसमा पनि भारतिय नम्बर प्लेटका सवारीका साधनमा वढी ओसार पसार हुने गरेको छ । तर, तराईका जिल्लाका एमुलेन्समा समेत गाँजा ओसार पसार गरिएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा लैजाँदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएपछि यस्तो जानकारी बाहिर आएको हो । प्रहरीले गाँजासहित एम्बुलेन्समा गाँजा लैजादै गरेका ३ जनालाई शनिबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका वडा नम्बर ९ बस्ने ३९ बर्षीय महमद खलिद, डुमरिया–४ का १९ बर्षीय अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका २२ बर्षीय विनोद सहनी रहेका छन् ।
सूचनाको आधारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको डुमरिया स्वास्थ्य चौकीको बा२झ १७४९ नम्बरको एम्बुलेन्स नेवारपानीमा जाँच गर्दा ३ वटा झोलामा ६ वटा पोका बनाई लुकाई राखेको ३० किलो ६ सय ग्राम लागुऔषध गाँजा बरामद भएको थियो । प्र
हरीले ९१ हजार रुपैँया र २ हजार २ सय भारतीय रुपैँया समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाही अघि बढाउने भएको छ । ऐन अनुसार २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैँया जरिवाना तथा सवारी साधन जफत हुने कानूनी प्रावधान छ ।







