मकवानपुरको बकैयामा खोला दोहनः काग्रेश सांसद विरुद्ध पक्राउ पूर्जी

हेटौंडा । सामुदायीक वनभित्र नदीजन्य पदार्थको अबैध उत्खनन् गरेपछि प्रतिनिधिसभाका सदस्य बहादुर सिं लामा सहित ४ जना बिरुद्ध डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ पूर्जी जारी गरको छ । नुवाकोटका काग्रेशका समानुपातिक सांसद लामा विरुद्ध वन कार्यालयले जिल्ला अदालत मार्फत पक्राउ पुर्जी जारी गरेको हो । सांसद लामा सहित दुईजना फरार रहेका छन् ।
पूर्वी मकवानपुरको बकैया ७ स्थित कालिवन सामुदायीक वन क्षेत्रभित्र अबैध ढुङ्गा गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा एक्साभेटर सहित चालक नरेश राम महरालाई डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल नेतृत्वको टोलीले गत पौस १३ गते पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा कालिवन सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तानलाई पनि वन कार्यालयले पक्राउ गरेको छ ।
चालक सहित एक्साभेटर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त काम हिमडुङ एण्ड थोकर कन्सट्रक्शन प्रा.ली., टोखा नगरपालिका ७ धापासी काठमाण्डौंको रहेको पत्ता लागेको थियो । कम्पनीका सञ्चालक समितिका अध्यक्ष नुवाकोटका प्रतिनिधिसभा सदस्य लामा, अर्का सञ्चालक नुवाकोट पञ्चकन्या ५ का निर्मल प्रसाद सिटौला र चितवन भरतपुर ९ का शिव घिमिरे रहेको बिवरण खुलेपछि कम्पनीका प्रतिनिधिलाई पुस १५ गते वन कार्यालयले सम्पर्कमा आउन पत्र लेखेको थियो । तर, जिल्ला अदालतबाट दोस्रो पटक म्याद थप हुँदा समेत कम्पनीका कुनै ब्यक्ति सम्पर्कमा नआएपछि अदालतको अनुमतिमा पुस २८ गते कम्पनीका तीनै जना सञ्चालक बिरुद्ध पक्राउ पूर्जी जारी गरि खोजिकार्य भइरहेको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख पौडेलले बताउनुभयो ।
सञ्चालकहरुसँगै उक्त कम्पनीको बकैया ७ स्थित अठारविगाह सम्पर्क कार्यालयमा काम गर्ने नुवाकोटको बिदुर १० का सुवास डंगोल बिरुद्ध पनि पक्राउ पुर्जी जारी भएको उहाँले वताउनुभयो । उक्त कम्पनीले सामुदायीक वन क्षेत्रभित्र ९ हजार ५ सय ६४ क्यु फिट ढुङ्गा, गिटी, बावुला र माटो अबैध उत्खनन् गरी चोरी गरेको वन कार्यालयको दावी छ । उक्त बिगो बापत १ लाख ६४ हजार १ सय १२ रुपैयाँ ५० पैसा जरिवाना र वन ऐन,२०७६ को दफा ५० को उपदफा ३ बमोजिम साढे ५ वर्ष कैद सजाँय माग गरिएको वन कार्यालयका उक्त मुद्धा हेर्ने अधिकारी सहायक वन अधिकृत बसन्तराज गौतमले बताउनुभयो ।
‘हामीले २५ दिनसम्म अनुसन्धानको म्याद पाउँछौं, सरकारी वविलबाट फाईल राय सहितको फाइल प्राप्त भएको अब अदालतमा मुद्धा दर्ता गदैर्छौ’, उहाँले भन्नुभयो । वन अधिकृत पौडेलका अनुसार नियम बिपरित शुल्क लिएर नदीजन्य पदार्थ बिक्री गर्ने बकैया गाउँपालिकालाई जवाफ पेश गर्न पत्र लेखिएको छ । अनुसन्धानको क्रममा वन कार्यालयले गाउँपालिकाले अबैध ढंगले उक्त कम्पनीलाई नदीजन्य पदार्थ बिक्री गरेको १४५१ देखि १५०० सम्मको बिक्री रसिदको ठेली पनि नियन्त्रणमा लिएको उनले बताउनुभयो । गाउँपालिकाले उक्त कम्पनीलाई ४ हजार २ सय ७१ रुपैयाँ ४० पैसाका दरले प्रति ट्रिपर नदीजन्य पदार्थ बिक्री गरेको रसिदमा उल्लेख छ ।