ज्येष्ठ नागरिकलाई आफ्नै सन्तानले हेरचाह गर्नुपर्छ –मुख्यमन्त्री पौडेल

जनपत्र
७ माघ २०७६, मंगलवार १७:०६

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ज्येष्ठ नागरिकको नाममा हुने व्यापार बन्द गर्न आग्रह गरेका छन् । मंगलबार हेटौंडामा आयोजित ज्येष्ठ नागरिकहरुको राष्ट्रिय कार्यशालाको हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले ज्येष्ठ नागरिकहरुलाई उनीहरुको सन्तानले नै हेरचाह गर्नु पर्नेमा जोड दिए ।

‘अहिले चोक चोकमा ज्येष्ठ नागरिकका नाममा पसल खुलेका छन्, त्यो बन्द हुनु पर्छ,’ उनले भने,‘सरकारले अब ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि कार्यक्रम ल्याउनु पर्छ । सन्तानलाई नै यसको जिम्मेवार बनाउने गरी नीतिगत व्यवस्था हुनु पर्छ ।’ सन्तानको कमाईको निश्चित प्रतिशत ज्येष्ठ नागरिकको लागि छुट्याउने व्यवस्था हुने हो भने आश्रमहरुको जरुरत नपर्ने उनले बताए ।

प्रदेश स्तरमा र जिल्ला तहमा एक-एक वटा ज्येष्ठ नागरिक आश्रम खुल्नु पर्नेमा जोड दिँदै उनले दिवा सेवा केन्द्र भने सबैजसो स्थानमा खुल्नु पर्ने बताए । यसका लागि स्थानीय सरकारले काम गर्नुपर्ने उनको भनाई छ । ज्येष्ठ नागरिकको हितमा सरकारले काम गरिरहेको भन्दै उनले यो सरकारले वृद्ध भत्ता ५ हजार पु¥याउने दावी गरे ।

यो मुलुक नै समृद्ध नेपाल सुखी नेपालीको अभियानमा रहेकोले २७ लाख जेष्ठ नागरिकहरुका लागि काम गरिएन भने देशमा समृद्धि नआउने भन्दै उनले उनीहरुको लागि पनि काम गर्नुपर्ने बताएका छन् ।

उनले जेष्ठ नागरिकका नाममा पसल खोलेर व्यापार गर्ने काम रोक्नुपर्ने बताउँदै कानुनमा लेखिएका जेष्ठ नागरिकका लागि दिईने सुविधाहरु व्यवहारमा उतार्नका लागि सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।

उनले धेरैभन्दा धेरैलाई पुर्नस्थापना गर्नुपर्ने भन्दै जेष्ठ नागरिकको अधिकारलाई सुरक्षित गर्ने भुमिका सरकारले खेल्नुपर्ने बताएका छन् ।
जो छोराछोरीको लागि आमाबुबाले आफ्ना हरेक कुराहरु त्याग गरेका छन्, ती अभिभावकलाई उनकै छोराछोरीले हेरचाह गर्ने वातावरण बनाउन संघ, प्रदेश तथा स्थानीय सरकारले बजेटसहितको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् ।

मुख्यमन्त्री पौडेलले जो सन्तानले आफ्ना अभिभावकलाई तिरस्कार गर्छन्, ती सन्तान हैनन् भन्दै सरकारले तिनीहरुका लागि सन्तानको कमाईबाट अभिभावकहरुको हक सु–निश्चित गर्नका लागि जोड दिएका छन् । उनले यही सरकारको कार्यअवधिमा वृद्धभत्ता ५ हजार बनाउनेमा समेत ढुक्क हुनका लागि आग्रह गरेका छन् ।

कार्यक्रममा महासंघका सल्लाहकार कृष्णहरि बास्कोटाले कार्यपत्र प्रस्तुत गर्दै ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्नुपर्ने बताउँदै सक्रिय भएर बाँच्ने ज्येष्ठ नागरिकहरुका लागि सहुलियत कर्जाका साथै करमा छुटको पनि व्यवस्था गर्नुपर्ने बताए ।

महासंघका अध्यक्ष मदनदास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुले हरेक स्थानीय सरकारले सुविधा सम्पन्न दिवा सेवा केन्द्र तथा ज्येष्ठ नागरिक पार्कहरु निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा ७७ वटै जिल्लामा सञ्चालित सय भन्दा बढी वृद्धाश्रम ८८ वटा दिवा सेवा केन्द्रका सञ्चालकहरु, महासंघका पदाधिकारी तथा सदस्यहरुका साथै बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*