हेटौंडामा दोस्रो माघी महोत्सव मनाईयो

जनपत्र
१ माघ २०७६, बुधबार २०:४०

हेटौंडा / थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा महोत्सव आयोजना गरी धुमधामका साथ मनाईएको छ । सांस्कृतिक कार्यक्रम, थारुको परिकारको स्टलहरु दोस्रो थारु माघी महोत्सवमा राखिएको थियो ।

महोत्सवमा घुंगीको बिशेष परिकार, माछाको अचार, तिल र भुजाको लड्डु लगायतको खानेकुरा स्टलहरुमा राखिएको थियो । महोत्सवमा थारु विद्यार्थी सभा, थारु युवा सभा, थारु महिला सभा लगायतले थारु परिकारहरुको स्टल राखेका थिए । रौतहटको हरफरौरी नृत्य, लौरी नृत्य तथा थारु युवा, महिला र विभिन्न समुहले थारु, नेपाली र हिन्दी गित गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

हेटौंडा ४, भुटनदेवी माध्यमिक विद्यालय चौरबाट शुरु भएको झाँकीसहितको ¥याली हेटौंडा बजारको परिक्रमा गरी विद्यालयको प्राङ्गणमा पुगेर महोत्सवको रुप लिएको थियो । महोत्सवमै परिक्षामा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थी, थारु समुदायका जेष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभाले जनाएको छ । सशुल्क महोत्सवमा करिब दुई हजार जनाले अवलोकन गरेको बताईएको छ ।

उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य तथा माघी महोत्सव मूल समारोह समिति संयोजक एवं थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरी, नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङ र हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ हेटौंडाका अध्यक्ष नरेशलाल श्रेष्ठ, थारु कल्याणकारिणी सभा मकवानपुरका संस्थापक बासुदेव चौधरी, निवर्तमान सभापति रविन्द्र प्रसाद चौधरी, नेपाल तामाङ घेदुङ्गका मकवानपुर अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघ मकवानपुरका सचिव सन्तोष तुम्सीङ मगर, दनुवार जागरण समिति मकवानपुरका सचिव कृष्ण बहादुर राई दनुवारको आतिथ्य रहेको थियो ।

त्यस्तै, थारु विद्यार्थी सभाका जिल्ला अध्यक्ष राजेश प्रसाद चौधरी, थारु महिला सभाकी जिल्ला अध्यक्ष द्रौपती चौधरी, थारु युवा सभाका जिल्ला संयोजक प्रमानन्द चौधरी लगायतको आतिथ्य रहेको कार्यक्रममा नीरा चौधरी र धिरेन्द्र चौधरीले सहजिकरण गरेका थिए । माघी पर्व आदिबासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँ वर्ष पनि हो ।

यसपर्वमा थारुहरु आपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्व प्रेम तथा आदर सम्मान गर्ने गरिन्छ । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*