प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

जनपत्र
१४ पुष २०७६, सोमबार १८:२७

हेटौंडा । प्रदेश नम्बर ३ को आज साँझ वसेको मन्त्रिपरिषद्को वैठकले यही पुस २१ गते प्रदेशसभाको वैठक आवहान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णग गरेको छ । वैठकले प्रदेश प्रमुखलाई वैठक आवहानका लागि सिफारिस गर्ने निर्णय गरेर पठाईको प्रदेश सरकारका प्रवक्ता कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रदेश सभाको वैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रुपमा प्रवेश गरेर निर्णय गर्ने छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको भोलिपल्ट प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।

दुईवर्ष देखि निर्णय हुन नसकेको प्रदेश ३ को नाम र राजधानी अवको वैठकले टुङेगो लगाउने निश्चित भएको छ । मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुखलाई सभाको बैठक बोलाउन सिफारिस गरेपछि प्रदेश प्रमुखले सभा आह्वान गर्ने कानूनी व्यावस्था छ ।

नेकपाको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयलाई प्रदेश सभाले अनुमोदन गर्ने निश्चित छ । आजै साँझ काठमाडौंबाट फर्किएका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद् बैठक बोलाउनुभएको थियो । नेकपा प्रदेश सभामा कुल ११० सांसदमध्ये नेकपाको ८० मत छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ । प्रदेश स्थायी राजधानीका लागि दुई तिहाई अर्थात ७४ मत भए पुग्छ ।

स्थायी राजधानी र नामाकरणको विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद भएपछि बजेट अधिवेशन सकिएसँगै प्रदेशसभाको पाँचौ अधिवेशन अनिश्चित भइरहेको थियो। आइतबार नेकपा सचिवालय बैठकले प्रदेश–३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने गरी पार्टीभित्र आन्तरिक निर्देशन दिएसँगै मुख्यमन्त्री डोरमणि पौडेलको सक्रियतामा सोमबार साँझ ६ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक राखिएको थियो। ‘मुख्यमन्त्रीले प्रदेशसभाको बैठक आहृवान गर्न सिफारिस गर्ने प्रस्ताव ल्याउनुभयो। उक्त विषयमा सहमति भएर बैठक सकियो।’, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेलका अनुसार मन्त्रिपरिषद्को बैठक करिब दस मिनेटमात्र बसेको थियो। नेकपा सचिवालयले स्थायी राजधानी र नामाकरण टुंग्याएसँगै काठमाडौं पुगेका मुख्यमन्त्री पौडेल हेटौंडा फर्किएलगत्तै मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका थिए।
मुख्यमन्त्री पौडेलले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक डाकेका थिए। बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल भने सहभागी थिएनन्। मन्त्रिपरिषद्को नियमित बैठक हरेक हप्ताको बुधबार मात्र बस्ने गरेको थियो। ‘अब प्रदेशसभाको बैठकको मूल एजेण्डा नै राजधानी र नामाकरण हुनेछ। अस्थायी मानसिकता त्यागेर अगाडि बढ्ने योजनामा सरकार पनि रहेको छ।’, मन्त्री जम्मकट्टेलले भने। उनका अनुसार प्रदेशसभाका लागि केही विधेयकहरु पनि तयारी अवस्थामा रहेको छ।

मुख्यमन्त्री पौडेलले प्रदेश–३ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसँग समेत राजधानी र नामाकरणको विषयलाई सदनमा कसरी अगाडि बढाउने विषयमा छलफल गरिसकेका छन्।
प्रदेशसभामा रहेको कुल एकसय दस सांसदमध्ये नेकपाको ८० मत रहेको छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ। प्रदेश स्थायी राजधानीका लागि ७४ मत भए पुग्छ। २०७५ साल वैशाख १४ प्रदेशसभाको बैठकले दीपक निरौलाको संयोजकत्वमा दश सदस्यीय स्थायी राजधानी र नामाकरणका लागि विशेष समिति गठन गरेको थियो।

४५ दिनको समय पाएको समितिले थप १५ दिन अध्ययन गरी सभामुख सानुकुमार श्रेष्ठलाई २०७५ असार २६ गते प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले २०७५ असार २६ गते प्रदेशसभामा टेबल गरेका थिए। सदनमा विशेष समितिको प्रतिवेदन टेवल भएको करिब एक वर्षपछि अर्थात २०७६ वैशाख ३१ गते सभामुख श्रेष्ठले सदनमा स्थायी राजधानी र नामाकरण टुंग्याउन कार्यविधि सदनमा पेश गरेका थिए। उक्त कार्यविधि सोहीदिन सर्वसम्मतरुपमा पारित भएको थियो।
विशेष समितिले प्रदेशको दस जिल्लाको स्थलगत भ्रमण गरेर सम्भावित राजधानीको नाम वर्णाणुक्रम अनुसार जिल्लाको नाम सिफारिस गरेको थियो। सम्भावित राजधानीको सूचीमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्ला रहेका छन्।

प्रदेशसभाको पहिलो बैठक २०७४ साल माघ १८ गते हेटौंडामा दिउँसो ३ बजे बसेको थियो। प्रदेशसभामा हालसम्म चार वटा अधिवेशन सकिएको छ। चार वटा अधिवेशनमा प्रदेशसभामा १२७ वटा बैठक बसेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*