शिक्षकहरुका लागि हुनेगरेका तालिमका उपलब्धी सोचेअनुरुप छैन–मन्त्री दुलाल

जनपत्र
१४ पुष २०७६, सोमबार १५:४७

हेटौंडा । प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले शिक्षकहरुका लागि हुनेगरेका तालिम कार्यक्रमहरुको उपलब्धी सोचेअनुरुप नभएको बताउनुभएको छ ।

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत कक्षा ९ र १० का गणित र विज्ञान शिक्षकहरुका लागि संचालित तालिम ढाँचा र सोको प्रभाव मूल्याङ्कन सम्बन्धमा गरिएको अध्ययन अनुसन्धानपछिका प्राप्ति र सिफारिसहरुका बरेमा आज हेटौंडामा भएको कार्यशालामा बोल्दै मन्त्री दुलालले विज्ञहरुको टोलीले तयार पारेको प्रतिवेदनले देखाएअनुसार शिक्षकहरुका तालिमका लागि भइरहेका लगानी र उपलब्धीबीच ठूलो अन्तर रहेको कुरा सबैले स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्ययनले देखाउन खोजेको यथार्तलाई विद्यालय स्तरका परीक्षामा विद्यार्थीहरुले प्राप्त गरिरहेका नतिजाहरुले पनि पुष्टी गरिरहेको भन्दै मन्त्री दुलालले अध्ययनले देखाएको सत्यतालाई आत्मसात गरेर आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा नयाँ तरिकाले धारणा बनाउनुपर्ने बताउनुभयो ।

उहाँले विगतमा शिक्षक तालिम संचालन गर्दा भएका कमीकमजोरीहरु अध्ययनले देखाएर सबैलाई छर्लङ्ग पारेको भन्दै नीति निर्माताहरुले यसलाई आत्मासात गर्नुपर्ने उल्लेख गर्नुभयो ।

अध्ययनले देखाए अनुसार नकारात्मक अवस्था नभएको भन्दै अध्ययन प्रतिवेदन नै सच्यानुपर्ने केही सहभागिहरुको मागप्रति लक्षित गर्दै मन्त्री दुलालले आफूलाई अध्ययन वस्तुनिष्ठ लागेको बताउनुभयो ।

“अध्ययन प्रतिवेदनलाई परिमार्जन हैन अध्ययन अघि शिक्षक तालिमका लागि भएका क्रियाकलापहरु प्रिमार्जन गरिनुपर्छ , विगतमा हामीले तालिमको योजना बनाउदा धेरै कुरामा कमजोरी भएकाछन् , हामी प्रशिक्षक र प्रशिक्षार्थीलाई हतारमा काम गराउँछौं , तालिममा सहभागि शिक्षकहरुको मनोविज्ञान समेत नबुझी सहभागि छनौट गछौं ” उहाँले भन्नुभयो ।

उहाँले केही स्तरीय र राम्रा तालिमहरु हुने गरेका भएपनि अधिकांश औपचारिक हुने गरेकोले समस्या भएको बताउनुभयो । मन्त्री दुलालले प्रस्तुत अध्ययनले आगामी शैक्षिक योजना निर्माणका लागि मार्ग दर्शन गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले अध्ययनगर्दा निजी र सामुदायिक विद्यालयहरु तथा ठूला र साना एवं विकटका र निकटका सबैलाई समेट्नुपर्नेमा जोड दिनुभयो । आयोगकी सदस्य डाक्टर यमुना कडेलले अध्ययनले समेटेका बिषयवस्तुहरु राम्रा भएको तर विद्यार्थीले प्राप्त गरेका खाजा र त्यसको पोषणको अवस्ता तथा स्तरीयताका बारेमा समेत अध्ययन स्पस्ट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले शिक्षा क्षेत्रमा सरकारको ठूलो लगानी रहेको भएपनि सोचे अनुसार उपलब्धी नभएको बताउनुभयो । उहाँले प्रस्तुत अध्ययन प्रतिवेदेनले शिक्षा क्ष्ोत्रलाई सुधार गर्न धेरै सुझावहरु दिएकोले मुल्याङ्कन तथा सबै क्षेत्रले स्वमुल्याङ्कन गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*