हेटौंडामा पोखे सडक मजदुरले पीडाः ९१ वर्षको उमेर सम्म नाली सोर्दा पनि सरकारले हेरेन

हेटौंडा । हेटौंडामा भेला भएका देशभरका सडक मजदुरहरुले बृद्ध उमेर सम्म सडक र नाली सफा गर्ने काम गर्दै आएको भएपनि सरकारी निकायबाट उपेक्षा गरिएको गुनासो गरेका छन् ।
९१ वर्षको बृद्ध उमेर सम्म पनि सडक मजदुरको रुपमा काम गर्दै आएका सडक मजदुरलाई उपेक्षा गरिएको उनीहरुको गुनासो छ । नेपाल सडक मजदुर टे«ड युनियनको छैठौ राष्ट्रिय महाँधिवेशनका अवसरमा हेटौंडामा भेला भएका मजदुरहरुले आफ्नो गुनासो पोखेका हुन् ।
सडक र नाली सफाइको काम गर्दै आएका मजदुरलाई सरकारले उपेक्षा गरेको युनियनका केन्द्रीय अध्यक्ष निराजन पाण्डेले वताउनुभयो । देशैभरीका ३५ वटा सडक डिभीजन कार्यालय अन्तरगत कार्यरत ७५ जिल्लामा ५ हजार जना सडक मजदुर छन् । तर, उनीहरुका लागि सरकारले उपेक्षा गरेको गुनासो गरिएको छ । देशैभरका मजदुर ज्यालादारी र करारमा मात्र कार्यरत छन् ।
सडकमा कुनै खाल्डाखुल्डी, नालीमा पानी जमेको वा कुनै समस्या आएमा सवै भन्दा पहिले सडक मजदुर पुग्ने भएपनि आफुहरुलाई उपेक्षा गरिएको हेटौंडामा आएका मजदुर विष्णु प्रसाद अधिकारी वताउनुहुन्छ । सडक मजदुरको रुपमा ९१ वर्ष सम्मका बृद्धाहरु सम्म कार्यरत छन् । उनीहरु अव घर फर्कदा रित्तोहात फर्कनुपर्ने वाध्यता रहेको छ ।
सडकको नालीमा घरमालिकहरुले दिसा, पिसाव, फाहोर फान्ले हुनाले सफा गर्नुपर्ने बाध्यता छ । तैपनि उपेक्षा गरिएको सडक डिभीजन कार्यालय धनकुटा अन्तरगतका मजदुर तोरण मगरको गुनासो छ ।
सडक मजदुर युनियनको छैठौ राष्ट्रिय महाधिवेशन हेटौंडामा
नेपाल सडक मजदुर ट्रेड युनियनको छैठौ राष्ट्रिय महाधिवेशन हेटौंडामा भएको छ । सडक मजदुरका वषौदेखिका समस्या पोख्दै महाँधिवेशन हेटौंडामा भईरहेको हो । देशभरका पाँच हजार सडक मजदुरका एक सय ८ जना प्रतिनिधि हेटौंडामा भेला भएका हुन् । उनीहरुले आफ्ना समस्या राख्दे आएका छन् ।
सवै मजदुरलाई सरकारले हेरे पनि सडक मजदुरलाई सरकारले उपेक्षा गरेको उनीहरुको गुनासो छ । युनियनका केन्द्रीय अध्यक्ष निराजन पाण्डेको अध्यक्षता तथा सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख सुमन योगेशको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ठ, युनियनका क्षेत्रिय अध्यक्ष महेन्द्र श्रेष्ठ, सडक कार्यालयका इन्जिनियर नरेश प्रसाद केसरी, दिपक कुमार झा, डिभीजन उपाध्यक्ष प्रकाश चौलागाई, भक्तपुर डिभीजनका सडक मजदुर विष्णु प्रसाद अधिकारी, सुर्खेत डिभिजनका मजदुर मानबहादुर साही, सडक डिभिजन धनकुटा अन्तरगतका मजदुर तोरण मगर लगायतकाले आफ्ना समस्या राखेका थिए । देशैभरी ५ हजार सडक मजदुर कार्यरत रहेका छन् ।