मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटनामा मृत्यु हुनेको सख्या पाँच पुग्यो
हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ ओखरेडाँडामा आज दिउसो सुमो दुर्घटना हुँदा मृत्यु हुनेहरुको सख्या पाँच जना पुगेको छ । तीन जनाको घटना स्थलमानै मृत्यु भएको छ भने अरु दुईजनाको उपचार गर्न काठमाण्डौ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिनुभयो । मृत्यु भएकाहरुमा चार जना पुरुष र एक जना महिला रहेका छन् ।
दुर्घटनामा परी दुई दम्पतीको मृत्यु भएको छ । चन्द्रनिगाहापुर निवासी २२ वर्षीय मनिष विक र उनकी श्रीमती २१ वर्षीय सृजना विक र सिन्धुली दुधौली– ८ बस्ने ५८ वर्षीय नेत्रमान रुसाल (भुजेल) र उनकी श्रीमती ५२ वर्षीय भक्तकुमारी रुसाल (भुजेल)को मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक लनन कुर्मीले जानकारी दिएका छन् । मृत्यु हुनेमा अर्का एक रौतहट चपुर–६ निवासी ७४ वर्षीय केदार तिमल्सिना पनि रहेका छन् । अरु चार जना घाइते भएका छन् ।
हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत काठमाण्डौँबाट रौतहटको चन्द्रनिहापुर आउँदै गरेको ना १ ज ३४३३ नंबर सुमो इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ ओखलडाँडा सडकबाट तल खस्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते सबैको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुनेहरु सर्लाहीको बागमती गाउँपालिका–११ निवासी २२ वर्षीय रञ्जित रिजाल र रौतहट बलुवा–५का जैसा शाहको काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । सुमो चालक हेटौंडा–१७ निवासी अनिल विक र रौतहट गरुडा–५ निवासी नन्दकिशोर साहको काडमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।







