हेटौंडा । योजनाका तालमेल नबन्दा प्रधानमन्त्री रोजगार कार्यक्रम योजना पेस गर्न मुस्किल भएको मकवानपुरको बकैया गाउँपालिकाले जनाएको छ।
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ मा व्यववस्था भए बमोजिम पुँजीगत २५ प्रतिशत र मानव संसाधनतर्फ ७५ प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था रहेको छ।
तर गाउँपालिकामा सञ्चालन हुने योजनाहरूमा मानवसंसाधनभन्दा पुँजीगत खर्च बढी हुने हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत योजना प्रस्ताव गर्न नसकिएको बकैया गाउँपालिकाले जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मङ्सिर २५ गते भित्र स्थानीय तहहरूले आफ्ना रोजगार कार्यक्रम योजनासहित पेस गर्नुपर्ने तोकिएपनि योजनाहरूको टुड्डो नलाग्दा पेस गर्न नसकेको रोजगार संयोजक रामचन्द्र खड्काले जानकारी दिए।
हाल गाउँपालिकामा ३ हजार ६ सय ६० जना युवा बेरोजगार रहेको तथ्याङ्क गाउँपालिकासँग छ। यस वर्ष रोजगार कार्यक्रमका लागि गाउँपालिकाले बेरोजगारलाई १ सय दिन रोजगार प्रदान गर्न ३४ करोड १६ लाख रुपैयाँ बजेट अनुमानित गरेको छ। तर, अनुमानित बजेट खर्च गर्ने कार्यक्रम नरहेको संयोजक खड्काले जानकारी दिए। अघिल्लो वर्ष करिब ३२ लाख रुपैयाँ बजेट यस कार्यक्रमअन्र्तगत गाउँपालिकाले खर्च गरेको थियो।







