मकवानपुरको वागमतीमा ८० प्रतिशत घरधुरी लालपुर्जाविहीन

जनपत्र
३ पुष २०७६, बिहीबार ११:५४

मकवानपुर — मकवानपुरको वाग्मती गाउँपालिकाका करिब ८० प्रतिशतभन्दा बढी घरधुरी लालपुर्जाविहीन छन् । चुरे जंगलमा पर्ने उक्त गाउँपालिका ललितपुर, काभ्रे र सिन्धुली जिल्लाको सिमानामा पर्छ । आठ दशकअघि जग्गा नापी भए पनि हालसम्म उनीहरूले लालपुर्जा पाएका छैनन् ।

१९९१ सालमा पहिलोपटक जमिन नापी भएपछि केहीले लालपुर्जा प्राप्त गरेका थिए । ०३२ सालमा उक्त गाउँपालिकाको सबै स्थानमा पुनस् नापी भएको थियो । स्थानीयले तिरो पनि तिर्दै आएका थिए । तर, लालपुर्जा पाउन सकेनन् । सशस्त्र युद्ध सुरु भएपछि तिरो पनि तिर्न छाडेको स्थानीय बताउँछन् । वाग्मती गाउँपालिका–६ का भीम राईले लालपुर्जा नहुँदा सरकारी सेवा सुविधाका साथै धेरै क्षेत्रमा समस्या परेको बताए ।

लालपुर्जाका लागि सरोकारवालासँग कुरा गर्दा स्थानीय सरकारमै पहल गर्नुस् भन्ने जवाफ आएकाले झन् समस्यामा परेको राईको दुखेसो छ । वाग्मती गाउँपालिका–८ का राजकुमार तिमल्सिनाको गुनासो पनि उस्तै छ । राष्ट्रिय गौरवको आयोजना धरान–चतरा सडकको काम भइरहेको र जग्गाको मूल्य बढिरहेको अवस्थामा लालपुर्जा नहुँदा अप्ठेरो भएको उनले दुखेसो पोखे ।

गाउँपालिकाले भूमिहीन किसानले उपभोग गर्दै आइरहेको जग्गाको स्वामित्व दिनका लागि नापी सुरु गरिसकेको अध्यक्ष सर्केश घलान बताउँछन् । गाउँपालिकाले जग्गा नापजाँच गर्ने प्राविधिक करारमा लिएर काम थालेको छ ।

‘संघीय सरकार भूमि सुधार ऐन संसद्मा पारित गरी लालपुर्जा दिने तयारी गरेपछि जग्गा नापी सुरु गरेका हौं । एउटा वडाको नापी भइसकेको छ । अब अस्थायी पुर्जा भए पनि वितरण गर्छौं,’ उनले भने । किसानले उपभोग गर्दै आइरहेको जग्गामा नौजना अमिन र सर्वेक्षकले पहिलो चरणमा नापी गरेर नक्सा निकाल्ने काम अघि बढाएको गाउँपालिकाले जनाएको छ । ‘१० वर्षदेखि भोगचलन गर्दै आइरहेका जग्गाधनीलाई गाउँपालिकाको तर्फबाट अस्थायी लालपुर्जा दिने गरी काम अगाडि बढाइएको छ,’ अध्यक्ष घलानले भने । आजको कान्तिपुर दैनिकमा सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*