प्रदेश–३ मा अनुसन्धान ब्युरो गठनको बाटो खुल्यो

जनपत्र
२६ मंसिर २०७६, बिहीबार १२:०३

मकवानपुर — प्रदेश ३ सरकारले प्रदेश अनुसन्धान ब्युरो गठनका लागि आवश्यक कानुन तर्जुमा सुरु गरेको छ । मन्त्रिपरिषद् बैठकले ब्युरो गठनका लागि ऐन तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन निर्माणको काम थालेको हो ।

‘हामीले अहिलेसम्म निर्माण गरेका धेरै कानुन एकल सूचीमा रहेका थिए, अब साझा सूचीमा रहेका कानुन बनाउने काम सुरु भएको छ,’ मन्त्री शालिकराम जम्मकट्टेलले भने, ‘प्रदेश सरकारलाई गति प्रदान गर्नका लागि पनि प्रहरी, अनुसन्धान र निजामति ऐन अत्यावश्यक छ ।’ प्रदेशको पाँचौं अधिवेशनमा अहिले तर्जुमा भइरहेका सबै ऐन पेस गर्ने गरी काम भइरहेको उनले बताए ।

संघीय सरकारले प्रहरी ऐन जारी गर्ने तयारी गरेसँगै प्रदेश तहमा उक्त ऐन तर्जुमा सुरु गरिएको हो । हालसम्म प्रदेश प्रहरी ऐन र अनुसन्धान ब्युरो गठनसम्बन्धी ऐन प्रदेश २ सरकारले मात्र निर्माण गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयको अस्थायी कर्मचारी दरबन्दी स्वीकृत, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यालयको कार्यविधि स्वीकृत तथा जनता आवास कार्यक्रमको कार्यविधि संशोधन गर्ने निर्णय गरेको मन्त्री जम्मकट्टेलले बताए । बिजनेस नहुँदा प्रदेशसभा तीन महिनादेखि स्थगित छ । प्रदेश सरकारले हालसम्म ४५ वटा कानुन निर्माण गरिसकेको र एउटा प्रमाणीकरण हुने प्रक्रियामा रहेको प्रदेश ३ का प्रदेशसभा सचिवालय सचिव रामशरण घिमिरेले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*