हेटौँडा–इनरुवा २८८ किलोमिटर विद्युत् राजमार्ग निर्माण एक वर्षभित्रै

पूर्व–पश्चिम ४०० केभी विद्युत् प्रसारण राजमार्ग
जनपत्र
२० मंसिर २०७६, शुक्रबार ०६:५७

हेटौंडा । विद्युत् प्रसारणको मुख्य राजमार्ग मानिएको पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइनअन्तर्गत हेटौँडा–इनरुवा २ सय ८८ किलोमिटर डबल सर्किट लाइन निर्माण एक वर्षभित्रै सकिने भएको छ । तीन खण्डमा निर्माण भइरहेको आयोजनाको उक्त खण्ड निर्माण एक वर्षभित्रै सकिने नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले बताए ।

‘सन् २०१२÷१३ बाट अध्ययन अघि बढाइएको आयोजना एक वर्षभित्र सक्ने गरी काम भइरहेको छ,’ उनले भने । आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने कुल ७ सय ९२ टावरमध्ये ५ सय ८७ वटाको फाउन्डेसन निर्माण कार्य सकिएको छ । फाउन्डेसन सकिएकामध्ये ५ सय ४७ वटा टावर उठाइसकिएको छ । विश्व बैंकको करिब १६ अर्ब ऋणमा उक्त खण्ड इन्जेलिक इन्टरनेसनल लिमिटेड इन्डिया र जर्मन कम्पनी जेभीले निर्माण गरिरहेको छ । तर, मकवानपुरको थानाभर्‍याङ र हटिया, सर्लाहीको जियाजोर, सिरहाको लाहान र पडरियामा स्थानीयको अवरोधका कारण फाउन्डेसन निर्माण सुरु हुन सकेको छैन । सो स्थानहरूमा रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरिरहेका हुन् ।

हेटौँडा–बुटवल खण्ड निर्माण तयारीमा एमसिए नेपाल

अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको सहयोगमा स्थापना भएको एमसिए नेपालले हेटौँडा–बुटवल खण्ड ४०० केभी प्रसारण राजमार्ग निर्माणको तयारी गरिरहेको छ । लप्सीफेदी ९काठमाडौं०–रातमाटे ९नुवाकोट०, रातमाटे–हेटौँडा, रातमाटे–दमौली र दमौली–न्यु बुटवल गरी ४ खण्डमा करिब ३ सय १३ किलोमिटर प्रसारण लाइन एमसिएले निर्माण गर्न लागेको हो । यसमध्ये हेटौँडा–रातमाटे–दमौली–न्यु बुटवल खण्ड पूर्व–पश्चिम प्रसारण राजमार्गमा पर्छ ।

निर्माणअघिका कार्य ९अध्ययन तथा डिजाइन० अघि बढिरहेको र आगामी असारदेखि निर्माण अघि बढाइने एमसिएका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए । एमसिएले नुवाकोटको रातमाटेमा सोही भोल्टेजस्तरको सबस्टेसनसमेत निर्माण गर्नेछ । अमेरिकी सरकारको ५० करोड डलर र नेपाल सरकारको १३ करोड डलर गरी कुल ६३ करोड ९६९ अर्ब रुपैयाँ०को कोषमध्येबाटै उक्त खण्डको प्रसारण लाइनसमेत निर्माण हुने भएको हो ।

बुटवल–कञ्चनपुर खण्डको अध्ययन तथा डिजाइन हुँदै

उक्त प्रसारण राजमार्गअन्तर्गत बुटवलदेखि पश्चिम कञ्चनपुरसम्म ४ सय ५५ किलोमिटर खण्डको अध्ययन तथा डिजाइनको काम भइरहेको प्राधिकरणका आयोजना प्रमुख अभिषेक अधिकारीले बताए । बुटवल भनिए पनि उक्त आयोजनाको सबस्टेसन नवलपरासीमा बन्छ । उनका अनुसार नवलपरासी–लमही–कोहलपुर–दोदोधारा कैलाली–कञ्चनपुर रुटबाट लाइन निर्माण हुनेछ । इटालियन परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रो कन्सल्टले उक्त खण्डको वातावरणीय प्रभाव मूल्यांकन ९इआइए०, सबस्टेसन तथा टावरलगायत संरचनाको डिटेल डिजाइनको काम गरिरहेको छ ।

‘अबको ६ महिनाभित्र आयोजनाको इआइए अध्ययन, डिटेल डिजाइनलगायत कार्य सकिने र अर्को ६ महिनाभित्र स्वीकृतिको काम पूरा हुने अपेक्षा छ,’ उनले भने, ‘यसअघिको अभ्यासअनुसार निर्माणकर्तालाई नै प्रसारण लाइनको अध्ययन तथा डिजाइनको जिम्मा दिइन्थ्यो, यस आयोजनामा भने अध्ययन र डिजाइन सकेर सोहीअनुसार निर्माण गर्न ठेक्का आह्वान गरिनेछ ।’

नवलपरासीमा निर्माण गरिने सबस्टेसनका लागि जग्गा खरिदलगायत काम सकिएको छ । आयोजनाको अन्तिम बिन्दु कञ्चनपुरमा भने सबस्टेसन कहाँ बनाउने भन्ने टुंगो लाग्न बाँकी छ । यो प्रसारण लाइन सुरुमा सुर्खेतसम्म मात्र प्रस्ताव गरिएको थियो । तर, भविष्यमा निर्माण हुने पञ्चेश्वर परियोजनाको विद्युत् प्रवाहलाई समेत ध्यान दिएर कञ्चनपुरसम्म विस्तार गरिन लागेको हो । उक्त आयोजनाको अध्ययन तथा डिजाइनको काम एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको छ । अध्ययन र डिजाइनका लागि २।२ मिलियन डलर ९करिब २५ करोड १२ लाख रुपैयाँ० लाग्ने अनुमान गरिएको छ । अध्ययन र डिजाइन सकिएपछि एक वर्षभित्र आयोजना निर्माणका लागि टेन्डर गर्न सक्ने अवस्थामा पुग्ने आशा गरिएको छ । तर, आयोजनामा कसले लगानी गर्ने भन्ने टुंगो लागेको छैन ।

विद्युत् प्रसारण र व्यापारका लागि सहज हुने आशा

सरकारले सन् २०४० सम्ममा ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । २० हजार मेगावाट आन्तरिक खपत र २० हजार मेगावाट निर्यात गर्ने लक्ष्य छ । उक्त परिमाणको विद्युत् प्रसारण तथा व्यापारका लागि ४०० केभी स्तरका लाइन मात्र ५ हजार ८ सय किलोमिटर विस्तार गर्ने गुरुयोजना बनाएको छ । यसैअनुसार हाल पूर्व–पश्चिम राजमार्गको समानान्तर हुने गरी प्रसारण राजमार्ग निर्माण गर्न लागिएको हो । यस्तै, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर–दक्षिण भएर बग्ने ठूला नदी करिडोरसमेतको समानान्तर हुने गरी यस्ता प्रसारण लाइन विस्तार गर्ने योजना छ । नयाँ पत्रिका दैनिकबाट समाचार साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*