प्रदेश सरकार र स्थानीय तहको अनुदानमा पहुँवालाकै हालीमुहाली

अनुदानको सूचना वास्तविक किसानसम्म पुग्न नसकेको मकवानपुरका कृषकको गुनासो
जनपत्र
१२ मंसिर २०७६, बिहीबार ०८:१३

हेटौंडा । कृषिजन्य उत्पादन बृद्धिका लागि भन्दै सरकारले किसानहरुलाई अनुदानको व्यवस्था गरेपनि मनहरीका किसानहरुले भने यस्ता सूचना किसानसम्म पुग्नै नसकेको गुनासो गरेका छन् । मनहरी–६, सुनाचुरीका किसानहरुले अनुदानका कार्यक्रमबारे आफूहरुलाई जानकारी नै नहुने बताएका हुन् ।

सुनाचुरीमा आज भेटिएका शुम्भु श्रेष्ठले पालिकाको सूचना खेतबारीसम्म पुग्न नसकेको बताए । “किसान खेतबारी र गोठमै हुन्छन्, सूचना पालिकामै हुन्छ”, उनले भने । थाहा हुँदासम्म ढिलो भइसक्ने र कागजात तथा अनुदान लिने प्रक्रिया झन्झटिलो रहेको समेत उनले बताए । “दशथरी कागजपत्र मिलाउन पर्छ, हामी नपढेकालाई गाह्रो छ नि”, श्रेष्ठले भने ।

प्रदेश नम्बर ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय र मकवानपुरका दश वटै स्थानीय तहबाट किसानलाई जाने अनुदानमा पार्टीका नेता देखि कार्यकर्ता, पहुँच भएका व्यक्ति, खेती किसानी गर्ने भन्दा पनि अनुदानका लागि कार्यालय मात्र धाउनेहरुले मात्र प्राप्त गर्ने गरेका छन् । तर, वास्तविक किसानले भने अनुदान रकम प्राप्त गर्न नसकेको गुनासो गरेका हुन् ।

स्थानीय तहले दिने अनुदानका लागि निश्चित समय तोकिएको हुने र वास्तविक किसानले थाहा पाउँदासम्म मिति सकिइसकेको हुने धेरैको गुनासो छ । स्थानीय सरकारले वास्तविक किसानको पहिचान गर्नुपर्ने र कागजपत्र भन्दा पनि अनुगमनमा जोड दिनुपर्ने किसानहरुको सुझाव छ । सुनाचुरीकै सपना खतिवडाले पनि अहिलेको नियम अनुसार असली किसानले अनुदान लिनै नसक्ने बताए । सुनाचुरी एकीकृत कृषक समूहका कोषाध्यक्ष समेत रहेकी उनले खेतसम्म अनुदानका कार्यक्रम पुग्न नसकेकोमा जोड दिइन् ।

सरकारले व्यक्तिलाई भन्दा पनि समूहलाई प्राथमिकता दिने गरेकोले किसानहरुलाई समूहमा बस्न अनिवार्य गरिएको छ । यसले कृषि क्षेत्रमा सामुहिकताको भावना तथा व्यवसायिक कृषितर्फ आकर्षित त गर्छ नै । तर, त्यस्ता समूहलाई समेत पर्याप्त सूचना नहुँदा समूहमा काम गरेको र पर्याप्त अनुभवको अभावमा घाटा व्यहोर्नु परेको किसानहरु समस्या भोग्न बाध्य भइरहेको सुनाचुरी एकीकृत कृषक समूहका अध्यक्ष शिवलाल मुक्तानले बताए ।

डेक नेपालको आयोजनामा मकवानपुरमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत मनहरी गाउँपालिका स्थित कृषक समूह र सम्बद्ध कार्यालयको अनुगमन गरिएको हो । सो क्रममा स्थानीय कृषकले प्राप्त गरेको सुविधा, किसानका समस्या, उपलब्ध स्रोत साधन लगायतका विषयमा नागरिक समाज मञ्चका प्रतिनिधिले कृषक समूहमा आबद्ध तथा त्यहाँका कृषकसँग जिज्ञासा राखेका हुन् ।
अनुगमन तथा छलफलमा नागरिक समाज मञ्च मकवानपुरका अध्यक्ष रमिला सापकोटा लगायत मञ्चका सदस्यहरु, डेक नेपालका मानबहादुर वाईबा, कृषक समूहका अध्यक्ष शिवलाल मोक्तान, समूहका पदाधिकारी तथा सदस्यहरु तथा स्थानीय कृषक सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*