हाहाकार थाहानगरमा पानीका धारा

जनपत्र
७ मंसिर २०७६, शनिबार ०८:२१

हेटौंडा — खानेपानीको अभावले कुवा र खोलामा निर्भर रहँदै आएका थाहा नगरपालिका–६ वज्रबराही, १० नम्वर वडा चित्लाङ र ११ नम्बर वडा टिस्टुङ मालागिरीमा मंसिर अन्तिम सातादेखि घरघरमा पानीको धारा जडान हुने भएको छ । दैनिक पाँच घन्टाभन्दा बढी धारामा पानी खस्नेछ । खानेपानी समस्याले हाहाकार नगरपालिकाका ११ सय घरधुरीका झन्डै १० हजार जनसंख्या लाभान्वित हुने भएका हुन् ।
पानीको सबैभन्दा समस्या रहेको थाहा नगरपालिका—१० चित्लाङका ५ सय ४० घरधुरीमा मंसिरको अन्तिम सातासम्ममा खानेपानीको सेवा हुने उपलब्ध हुने नगरपालिका मेयर लवशेर विष्टले बताए । खानेपानीको अभावले गर्दा उक्त क्षेत्रका बासिन्दा कुवा र ढुंगेधारामा निर्भर थिए । सामुदायिक विकास केन्द्र नेपाल ९सीसीडीएन० को आर्थिक र प्राविधिक सहयोगमा चित्लाङमा खानेपानी सम्भव भएको हो ।

२ करोड ५६ लाखको लागतमा बृहत् सितापाइला खानेपानी उपभोक्ता समिति चित्लाङमार्फत एक वर्षदेखि खानेपानीको काम भइरहेको छ । चित्लाङको धाराचौरमा डिपबोरिङ गरेर पानी निकालिएको छ । उक्त पानी डिपबोरिङ नजिकै निर्माण गरिएको ओभरहेट ट्यांकीमा संकलन गरेर घरघरमा वितरण गर्न लागेको उपभोक्ता समितिका अध्यक्ष हरि मगरले बताए ।

उक्त वडाका घरघरमा पानी पुर्‍याउन १८ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यसका लागि स्थानीय श्रमदानमा जुटेको सीसीडीएनका इन्जिनियर सन्तोष ढकालले बताए । ‘स्थानीयको आवश्यकताअनुसार खानेपानीको योजना भएकाले उपभोक्ता समितिलगायत गाउँलेले पूर्ण सहयोग गरेकाले योजना समयमै सम्पन्न हुन लागेको हो,’ उनले भने । पानीको मुख्य र शाखा लाइनमा पाइप बिछ्याउने काम भइसकेको छ । करिब २ सय ५० घरमा पानीको धारा जोडिएको छ । ‘अब बढीमा एक महिनापछि कुवा र ढुंगेधाराको पानीबाट मुक्त हुनेछौं,’ वडाध्यक्ष परशुराम श्रेष्ठले भने, ‘साबिकको चित्लाङ गाविस थाहानगरमा गाभिएपछिको यो ठूलो उपलब्धि हो ।’ भूकम्पपछि कुवा र ढुंगेधाराको पानी सुक्दा चित्लाङका बासिन्दा समस्यामा थिए ।

थाहा नगरपालिका–६ वज्रबराहीमा पनि आगामी पुसको पहिलो सातासम्ममा ५ सय ४३ घरधुरीका करिब ४ हजारभन्दा बढी बासिन्दा खानेपानीबाट लाभान्वित हुने भएका छन् । २ करोड २९ लाखको लगानीमा गत वर्षदेखि सुरु भएको योजना पुसको पहिलो सातासम्ममा सम्पन्न भइसक्ने उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर बलामीले बताए । सीसीडीएनको आर्थिक प्राविधिक सहयोगमा निर्माण गरिएको आयोजनाको डिपबोरिङ पापुङमा गरिएको छ भने बोरिङभन्दा २०६ मिटर टाढा ओभरहेट ट्यांकी बनेको छ ।

त्यहाँबाट बज्रबराहीको सरस्वती बजार, पापुङ, लीलाखेललगायतका बस्तीमा पानी वितरण हुने इन्जिनियर ढकालले बताए । हाल तीन सयवटा धारा जडान गरिएको छ । अब २ सय ४३ धारा जडान गर्न बाँकी छ ।

थाहा नगरपालिका–११ स्थित चित्रे मालागिरीको खानेपानी योजना पनि अन्तिम चरणमा पुगेको छ । ‘मंसिर मसान्तसम्ममा काम सम्पन्न भइसक्छ,’ थाहा नगरापालिका मेयर विष्टले भने । सीसीडीएनले थाहा नगरपालिकाको तीनवटा खानेपानी योजनाका निम्ति ५ करोड १७ लाख रुपैयाँ लगानी गरेको छ । योजनामा नगरपालिकाले कुल बजेटको १० प्रतिशत रकम उपलब्ध गराएको छ भने स्थानीयवासीले पाइपलाइन बिछ्याउन श्रमदान गरेका थिए । नगरपालिका र स्थानीयको सहयोगमा खानेपानी योजना समयमै सम्पन्न हुन लागेको सीसीडीएनका कार्यकारी निर्देशक महेन्द्रबहादुर मगरले बताए । आजको कान्तिपुर दैनिकमा प्रताप विष्टले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*