अमेरिकामा भारी हिमपात, हालसम्मकै कम तापक्रम महसुस

जनपत्र
३० कार्तिक २०७६, शनिबार ०६:५३

अमेरिकाको विभिन्न स्थानमा हिउँ परेको र कयौं स्थानमा हालसम्मकै कम तापक्रम महसुस गरिएको छ ।उत्तरी ध्रुवक्षेत्रबाट हावाको झोक्का आएका कारण नोभेम्बर महिनामै अमेरिकाका कैयौँ स्थानमा मध्य हिउँदयामको जस्तो हिउँ परेको र कैयौँ स्थानमा हालसम्मकै कम तापमान महसुस गरिएको बीबीसीले जनाएको छ ।

विभिन्न स्थानमा बाक्लो हिउँ परिरहेको छ । कान्सास र इलिनोय राज्यमा नयाँ रेकर्ड कायम भइरहेको छ। मौसम पूर्वानुमान गर्ने विज्ञहरूका अनुसार यो हप्ता सयौँ त्यस्ता रेकर्ड बन्न सक्ने सम्भावना छ । खराब मौसमका कारण एक हजार भन्दा बढी हवाई यात्रा रद्द गरिएको छ भने सडक दुर्घटनामा परेर चार जनाले ज्यान गुमाएका छन् । नेसनल वेदर सर्भिसका अनुसार हावाको झोक्का समतल क्षेत्रबाट पूर्वी तटीय क्षेत्र तर्फ फैलिँदैछ जसकारण नोभेम्बर महिनामा समेत त्यस क्षेत्रका बासिन्दालाई ‘जाडो मौसम जस्तै’ अनुभूति हुन सक्ने त्यो निकायले चेतावनी दिएको छ ।

सबैभन्दा कम तापमान गार्डेन सिटीमा मापन गरिएको छ जहाँको तापक्रम माइनस १८ डिग्री सेल्सियस पुगेको बताइएको छ । शिकागोमा पनि हाल सम्मकै कम तापमान मापन गरिएको छ। शिकागोको तापक्रम सन् १९८६ को भन्दा कम रहेको बताइएको छ । अमेरिका र मेक्सीकोबीचको सीमा नजिकै रहेको टेक्सस राज्य स्थित एउटा सहरमा दुर्लभ हिमपात भएको बताइएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*