कांग्रेसका सांसद अफ्ताव आलम पूर्पक्षका लागि थुनामा

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद मो. अफ्तावलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।
रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । उनले भने आरोप अस्वीकार गरेका छन् ।
सरकारी वकिल कार्यालयले आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विष्फोटन गरेको भन्दै अभियोगपत्र दायर गरेको थियो । आठ दिनको थुनछेक बहसपछि अदालतले आदेश गरेको हो ।
आलम छुटने आशमा ठूलो संख्यामा उपस्थित उनका समर्थक अदालतको आदेशपछि निराश भएका थिए । दुबै तर्फका कानुन व्यावसायीको बहस सकिएपछि आलमले न्यायाधीश समक्ष भनाइ राख्दै आफुलाई सरकारले फँसाएको बताएका थिए । उनले राजपुरमा पटका समेत नपडकिएको दावी गर्दै बमको कुरा कसरी आयो भन्दै प्रश्न गरे ।
२७ चैत ०६४ मा संविधान सभा निर्वाचनको बेला बम बनाउन लगाउने क्रममा सर्बसाधारणको ज्यान गएको घटनाका बिषयमा प्रहरीले आलमलाई १२ वर्षपछि पक्राउ गरी मुद्दा चलाएको हो ।