प्रदेश–३ लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिब सुरेशमान श्रेष्ठ सिफारिस
हेटौंडा । प्रदेश नम्बर–३ को लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव सुरेशमान श्रेष्ठलाई नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । नेपाल सरकारको निजामती सेवामा ३२ वर्ष तीन महिना काम गर्नु भएका श्रेष्ठलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय गर्नु भएको हो ।
यो निर्णय कार्तिक २७ गते बुधबार गरिएपनि प्रदेश सरकारले बाहिर भने ल्याएको छैन । अध्यक्षमा सिफारिस गरिएपनि महिला सहित दुईजना सदस्य भने प्रदेश सरकारले सिफारिस गर्न वाँकी छ । आयोगको अध्यक्षमा सिफारिस गरेसंगै प्रदेश ३ सरकारका संरचना र स्थानीय तहमा कर्मचारी भर्ना गर्ने बाटो समेत खुल्ने छ ।
मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेताले सिफारिस गरेपछी प्रदेश प्रमुखले नियुक्त गर्ने कानूनी व्यावस्था छ । आयोगको अध्यक्षमा सिफारिस हुनु भएका श्रेष्ठलाई प्रदेश प्रमुखले कहिले नियुक्त गर्ने भन्ने टुङ्गो भने लागिसकेको छैन । नियुक्ति दिए लगतै प्रदेश प्रमुखले सपथ पनि खुवाउनु हुने छ ।
को हुन् लोक सेवा आयोगका अध्यक्षमा सिफारिस श्रेष्ठ ?
लमजुङ जिल्लाको दुरा डाँडामा २०१५ साल चैत ४ गते जन्मनु भएका श्रेष्ठले आफ्नै गाउँको विद्यालयमा प्रथम श्रेणिमा एसएलसी पास गर्नुभयो । २०३१ सालमा एसएलसी पास गरेपछी २०४१ सालमा मात्र नेपाल सरकारको साखा अधिकृत स्तरको सेवामा उहाँ प्रवेश गर्नुभयो ।
२०४१ साल देखि निजामती सेवामा काम गर्दा अधिकांश क्षेत्र भने बाणिज्य क्षेत्रमा काम गर्नु भएको छ । अधिकृत, उपसचिव, सहसचिब हुँदा देशका विभीन्न जिल्लामा सेवा गर्नु भएको छ । हाल काठमाण्डौको गंगगुमा वस्दै आउनु भएका श्रेष्ठले एमएससी, एमपीए र न्यूजरल्याण्डमा वातावरण विषयमा अध्ययन गर्नु भएको उहाँका समकक्षी सचिवहरु वताउँछन् ।

पाँच वर्ष नेपाल सरकारको सचिवमा काम गर्दा विभीन्न मन्त्रालयमा सेवा
नेपाल सरकारको सचिव पदमा २०६८ सालदेखि २०७३ साल सम्म श्रेष्ठले काम गर्नुभयो । सचिव हुने वितीकै सुर्खेतमा वसेर क्षेत्रिय प्रशाशकको रुपमा काम गर्नु भयो । त्यस लगतै राष्ट्रिय सूचना आयोगको सचिवका रुपमा काम गर्नुभयो ।
सचिव रहँदाको समयमा राष्ट्रिय सर्तकता केन्द्र, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, सहकारी मन्त्रालय, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोगमा काम गरेको उहाँसंग अनुभव रहेको संघिय सरकारको एक मन्त्रालयका सचिव वताउनुहुन्छ । २०७३ सालमा निजामती सेवाबाट अवकास हुँदा राष्ट्रिय योजना आयोगबाट निस्कनु भएको हो ।
सहसचिव हुँदा सीडीओ देखि सञ्चार मन्त्रालय सम्म
सहसचिवको रुपमा काम गर्दा संचार मन्त्रालयमा काम गर्नु भयो । कन्चनपूर जिल्लामा प्रमुख जिल्ला अधिकारी, भारतको कलकत्तामा चार वर्ष सम्म महाँवाणिज्य दुतका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ मुद्रण विभागको डिजी भएर काम गर्दा कक्षा ११ र १२ को प्रश्नपत्र नेपालबाटनै छाप्ने सुरुवात गर्नुभएको थियो । त्यस भन्दा अगाढी भारतमा प्रश्नपत्र छाप्ने गरिएको थियो ।
त्यसैगरी श्रेष्ठकै पालामा नेपाललाई विश्व व्यापार संगठनको सदस्य वनाउने सन्धर्वमा २ वर्ष सम्म जेनेभामा खटाइएको थियो । अहिले पनि श्रेष्ठ संघीय लोकसेवा आयोगको कपी चेक जाँच गर्ने, परिक्षाको अन्तरवार्ता लिने काम गर्दै आउनुभएको छ । प्रदेश ३ को संसदबाट प्रदेश लोक सेवा आयोगको गठन सम्वन्धी कानून पारित भएपछी आयोगको अध्यक्ष र सदस्यहरुमा नियुक्त गर्ने बाटो खुलेको हो ।







