मकवानपुरको चित्लाङ–थानकोट सडक निर्माण अलपत्र

जनपत्र
२६ कार्तिक २०७६, मंगलवार १८:१६

हेटौंडा । चित्लाङ–थानकोट सडक गणेश मान सिंह मार्ग निर्माणमा ठेकेदार कम्पनीले फेरि लापरबाही गरेको छ । पर्यटकीय गाउँ मकवानपुरको थाहानगरपालिका–९ चित्लाङलाई राजधानी काठमाडौंसँग जोड्ने सडक निर्माणमा कम्पनीले पटक–पटक लापरबाही गर्दै आएको छ ।

सडक निर्माणका लागि भन्दै बाटो बन्द गराएपनि कम्पनीले काम नगरेको पाइएको स्थानीयले बताएका छन् । स्थानीयको दबावपछि चाडपर्व सकिए लगत्तै तीब्र गतिमा काम गरेर मंसिर मसान्तसम्म काम सक्ने आवश्वासन निर्माण कम्पनी पीएसरकिराँतेश्वरले दिएको थियो ।
तर केही दिनदेखि कम्पनीले तदारुकताका साथ काम गरिरहेको छैन । देउराली डाँडादेखि राम्चेसम्मको सडकखण्ड भत्काएर अलपत्र छोडिएको छ । सवारी साधन त परको कुरा पैदल यात्रुलाई समेत आवतजावतमा समस्या छ ।

ठेकदार कम्पनीले बाटो लथालिंग अवस्थामा छोडेको र निर्माण स्थलमा कामदार समेत नरहेको चित्लाङका राजेन्द्र बस्नेतले बताए । ‘गाडी चल्न छोडेको त एकसाता जति भयो, मान्छे हिँड्ने गोरेटो बाटो समेत नछोडी सडक भत्काएर छोडेका छन,’ उनले भने, ‘ठुटा बुटा समातेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।’

चित्लाङमा फन्की रेष्टुरेन्ट सञ्चालन गर्दै आएका उनले चित्लाङ आउने पाहुना लिन जाँदा आफूले सडकको दुराअवस्था देखेको बताए । उनका अनुसार निर्माण कम्पनीले देउरालीमा २ वटा, राम्चेमा २ वटा र थानकोट तर्फ २ गरी ६ वटा जेसिबी थन्काएर राखेको छ ।

थाहा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठले सडक निर्माणको काम रोकिएको जानकारी आफूले पनि पाएको बताए । ‘६ वटा मेशिन थन्काएर राखेको र काम पनि रोकेको भन्ने जानकारी म कहाँ पनि आएको छ ।’ उनले भने ।
सडक निर्माणमा लापरबाही भइरहेको महसुस आफूले गरेको उनको भनाइ छ । ‘चाडवाडपछि काममा गति दिन्छु भनेको हो, तर अहिले यस्तो कुरा आइरहेको छ,’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘फेरि स्थलगत अनुगमनमा जानुपर्ने जस्तो छ ।’

गत जेठदेखि नै सडक निर्माणका लागि स्थानीयले दवाव दिँदै आएका छन् । उनीहरुले आयोजना कार्यालय र ठेकेदार कम्पनीलाई मंसिर मसान्तभित्र काम सम्पन्न गराउन सहमति पत्रमा हस्ताक्षर समेत गराएका हुन् । अनलाईन खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*