मकवानपुरको राक्सिराङ गाउँपालिकामा ६० बर्ष कटेकालाई घरदैलोमै उपचार सेवा

हेटौंडा । राक्सिराङ गाउँपालिकाले ६० बर्ष कटेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारका लागि घरदैलोमै उपचारको व्यवस्था गर्ने भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा २०७६ सालदेखि २०७८ सालसम्म आमाबुवा बचाऊ कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिकहरुको स्वास्थ्योपचारमा ध्यान दिन लागिएको हो ।
यसका लागि घरदैलोमै पुगी इन्टरनेटका माध्यमबाट ज्येष्ट नागरिक, असहाय र दीर्घरोगीहरुको उपचार गरिने गरी प्रतिष्ठानसँग सम्झौता भएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।
सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र प्रतिष्ठानका प्राध्यापक डाक्टर पारस आचार्यले हस्ताक्षर गर्नु भएको छ । आमाबुवा बचाऊ कार्यक्रम अनुसार राक्सिराङ गाउँपालिकाभित्र दीर्घरोग पालेर बसिरहेका बिरामीहरुको बिशेष निगरानी हुनेछ ।
गाउँपालिकामा खटिएका स्वास्थ्य प्राविधिकहरुले दीर्घ रोगी, असहाय तथा ज्येष्ठ नागरिकहरुको घरमै पुगी इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरहरुसँग भिडियो च्याटिङ गरी स्वास्थ्य उपचार र परामर्श लिइने व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । ‘क्यान्सरजस्ता प्राणघातक रोगहरु सहेर गाउँमै कुहिएर बसिरहेका बुवाआमाहरुको बाँकी जीवन सहज पार्नेगरी आमाबुवा बचाउ कार्यक्रमको अबधारणा ल्याएका हौँ’, अध्यक्ष मल्लले भन्नुभयो ।
अध्यक्ष मल्लका अनुसार आमाबुवा बचाउ कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकामा छुट्टै शाखा स्थापना हुनेछ । शाखामा मोटरसाइकल, ल्यापटप र इन्टरनेट डिभाइससहितका हेल्थ असिस्टेन्ट र अनमीसहितका तीनजना कर्मचारी हुनेछन् । ती कर्मचारीहरु रोगीको घरमा गएर इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरहरुसँग सीधा कुरा गर्छन् र उपचारको व्यवस्था मिलाउँछन् । थप उपचार गर्नुपरेमा गाउँपालिकाले व्यवस्था गर्ने एम्बुलेन्सको सहायताले प्रतिष्ठानमै रिफर गर्नेगरी व्यवस्था मिलाइएको अध्यक्ष मल्ल बताउनुहुन्छ ।
आमाबुवा बचाऊ कार्यक्रमले राक्सिराङ गाउँपालिकाका ज्येष्ठ नागरिकहरुलाई बढी राहत मिल्ने गाउँपालिकाका स्वास्थ्य संयोजक बिजय कापरी बताउनुहुन्छ । साबिकका सरिखेत, राक्सिराङ, खैराङ र काँकडा गाविस मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साबिक गाविसतर्फ एक÷एक वटा स्वास्थ्य चौकी रहेका छन् । अधिकाँश चेपाङ, तामाङ र दलित समुदायको बसोबास रहेको गाउँपालिका स्वास्थ्य सेवाका लागि मनहरी, हेटौँडा र भरतपुर पुग्नुपर्ने बाध्यता रहँदै आएको छ । मनहरी लाइभबाट ।