प्रदेश ३ का प्रमुख विष्णु प्रसाईंको हेटौंडामा पदभार ग्रहण तथा स्वागत

हेटौंडा । प्रदेश ३ का प्रमुख विष्णु प्रसाईको हेटौंडामा पदभार प्रहण कार्यक्रम आज हुने भएको छ । हिजो मात्र राष्ट्रिपति बिद्यादेवि भण्डारीबाट सपथ खानु भएका प्रसाईंले आज हेटौंडा रहेको प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नुहुने छ ।
आज दिउसो १ वजे पदभार ग्रहणको कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका कर्मचारीहरु वताउँछन् । आज कार्यालयका सबै कर्मचारी तथा प्रदेशका मन्त्री तथा कर्मचारीहरुले स्वागत गर्ने कार्यक्रम समेत रहेको छ । दिउसो १ वजेको कार्यक्रम तय गरिएको छ । अहिले काठमाण्डौंबाट हेटौंडा तर्फ प्रदेश प्रमुख आउँदै हुनुहुन्छ ।
प्रदेश ३ को प्रमुखमा नियुक्त विष्णु प्रसाईंको इतिहास
गत स्थानीय चुनावमा मेयरमा पराजित झापाली नेता विष्णु प्रसाईलाई ३ नम्बर प्रदेशको प्रमुख बनाइयो भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा उनको राजनीतिक पृष्ठभूमि र इतिहासलाई पनि बिर्सन नमिल्ने नेकपाका नेताहरुको तर्क छ ।
६६ वर्षीय प्रसाई ०२८ सालको झापा क्रान्तिसँगै कम्युनिस्ट राजनीतिमा लागेका हुन् । ०२७ सालमा अनारमनीमा भएको अनेरास्ववियूको कार्यक्रममा पहिलोपल्ट पक्राउ परी एक महिना राजबन्दी भएपछि प्रसाई पूर्णकालीन राजनीतिमा होमिए ।
२०३६ सालदेखि ०४५ सालसम्म पूर्वी नेपालमा हुने पञ्चायत विरोधी जुनसुकै घटना हुँदा पनि झापामा प्रहरीले विष्णु प्रसाईलाई नै पक्राउको वारेन्ट जारी गथ्र्यो । तत्कालीन नेकपा मालेको नीतिअनुरुप नै २०४३ सालमा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्चसमेत निर्वाचित भएका थिए प्रसाई ।
त्यसबेला झापामा जुझारु र कडा छविका कारण प्रसाईलाई झापाली टाइगर भनिन्थ्यो । प्रसाई ०५४ सालमा जिल्ला विकास समिति झापाको उपसभापति निर्वाचित भएका थिए । उपसभापति भएकै बेला उनी ०५६ सालको आम निर्वाचनमा झापा ३ बाट उम्मेदवार बने तर कांग्रेसका कृष्ण सिटौलासँग पराजित भए ।
झापाको धाइजनस्थित सम्पन्न परिवारमा हुर्किएका हुन् प्रसाई । यद्यपि उनले बुबा विरुद्ध बिद्रोह गरे । बुबाले मोहीहरुमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाउन सहयोग गरेको नेकपा नेताहरु सम्झन्छन् ।
वि.सं. ०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएपछि प्रसाईंले आफूमाथि अन्तर्घात गरेको भन्दै सांसद रविन कोइरालामाथि मतगणनास्थलमै झम्टिएका थिए । प्रसाईं केपी ओलीका निकटस्थ हुन् ।
प्रसाईँ २०७४ मा झापाको मेचीनगर नगरपालिकाको मेयरमा पराजित हुनुभएको हो । त्यसअघि २०५४ मा तत्कालीन एमालेको तर्फबाट झापा क्षेत्र नंं १ मा सांसदका लागि भएको चुनावमा पनि उहाँ पराजित हुनुभएको थियो ।
नेपाली कम्युनिस्ट आन्दोलनकाे जग बसाल्ने इतिहास निर्माण गरेको झापामा धेरै निष्ठावान, पार्टीप्रति प्रतिबद्ध, जुझारु र निरन्तर संघर्ष गरिरहने कार्यकर्ता सक्रिय छन्। उनीहरुको अविचलित संघर्ष र अमूल्य योगदान छ नेपाली वामआन्दोलनमा।
यही लहरमा निरन्तर वाम आन्दोलनलाई अघि बढाउन र पार्टीलाई बचाईराख्न अथक प्रयास गर्ने निष्ठावान कार्यकर्ता हुन्, विष्णु प्रसाइँ। उनै प्रसाइँलाई सरकारले प्रदेश ३ प्रमुखको जिम्मेवारी सुम्पिएको छ।
झापाको मेचीनगर धुलाबारी निवासी प्रसाइँले समाज र जनताका लागि आफ्नो जीवन सुम्पिएका छन्। ‘मैले पाउनु केही छैन, पाउने आशा पनि राखेको छैन,’ प्रसाइँले भने, ‘चेतना आएदेखि नै म जनताको पक्षमा निःस्वार्थ लडिरहेको छु।’
स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका उनी नेपाली कांग्रेसका नेता विमल आचार्यसँग पराजित भए। तर पनि उनलाई सरकारले महत्त्वपूर्ण जिम्मेवारी दिँदै प्रदेश प्रमुख बनाएको छ।
विद्यार्थी जीवनबाट सुरु भएको उनकाे राजनीतिक यात्रा इन्द्रावतीझै सललल बगिरहेको छ। त्यही रमाएका छन्। जनतालाई सेवा दिँदा हुने आत्मसन्तुष्टिले उनलाई अझै लगनशील बन्न प्रेरित गरिरहेको छ।
मोही किसानका पक्षमा बोल्दा…
हुन त, उनी सामन्ती परिवारमा जन्मेका हुन्। २०१० साल साउन २१ मा बुधबार बुवा पुण्यप्रसाद प्रसाइँ र आमा मनमाया प्रसाइँका छोराका रुपमा तेह्रथुमको हामपाङमा उनी जन्मिए। सानैदेखि निडर स्वभावका उनकाे आफ्ना बुवासँगै टक्कर पर्थ्याे।
शोषित पीडितको पक्षमा लाग्ने विष्णुको व्यवहार सामन्ती संस्कारमा हुर्किएका पुण्यप्रसादलाई मन पर्दैनथ्यो। आफ्ना बुवाका गलत कार्यविरुद्ध उनी बोलिरहन्थे। र, कसैलाई अन्याय भए उनी न्याय प्रदान गर्थे।
झापा झरेपछि पनि उनको सामाजिक कार्यको बाटो निरन्तर चलिरह्यो। २०३० सालमा उनी वडा सदस्य थिए। मोही हटाउने बाबुको नियत थाहा पाए उनले।
‘मोहीको घरबाट धान मैले नै ल्याएको थिएँ,’ उनी सम्झिन्छन्, ‘तर, भरपाई लिन आउँदा बुवाले दिनु भएन र भूमि सुधार कार्यालयमा मुद्दा दायर गर्नुभयो। मोही माथिको अन्याय सहिँन, आफैँ गएर बयान दिएँ र उनीहरुलाई न्याय दिलाएँ।’
२०३० सालमा भूमिसुधार अधिकारी नरेन्द्र केसीले प्रसाइँतिर देखाउँदै ‘यो मुलुकमा यस्तै युवाको खाँचो छ’ भनेको उनको मानसपटलमा ताजै छ।
जब केपी, सिपीहरुसँग भेट भयो…
२०२७ साल विष्णु प्रसाइँका लागि राजनीतिक यात्रा प्रवेशको वर्ष बन्यो। सीपी मैनाली र केपी शर्मा ओलीसँग भेट भयो। उनी त्यतिबेला धुलाबारी हाईस्कुलमा पढ्थे।
‘म २०-५० युवाको नेतृत्व गर्थें, तर राजनीतिक चेतना थिएन,’ उनले थपे, ‘अनेरास्ववियु गठन गर्दा पक्राउ परेपछि सीपी मैनालीले जेलमै राजनीतिक शिक्षा प्रदान गर्नुभयो।’
त्यतिबेला २ महिनाभन्दा धेरै समय उनी जेल बसेका थिए। ‘जेलबाट छुटेपछि जनजागृति कुइनेटोबाट पुस्तक किनेँ,’ उनले भने, ‘मार्क्सवादी पुस्तक पढेपछि थप ज्ञान आर्जन भयो।’
उनका अनुसार सीपी र केपीले शोषित पीडित जनताको पक्षमा लाग्न निरन्तर ढाडस दिइरहे। वडा सदस्य भएपछि उनी गाउँको विकासमा पनि लागे। किसान र मजदुरका पक्षमा पनि सक्रिय रहेका प्रसाइँले २०३७ सालमा भएको पाटाकाण्डको पनि अगुवाई गरे।
‘१६ रुपैयाँमा एक किलो चिनी पाइन्थ्यो, एक मन पाटाको मूल्य पनि १६ रुपैयाँ नै थियो,’ उनले भन्छन्, ‘किसानको श्रमको मूल्य पनि नउठ्ने स्थिति भएपछि किसानले विद्रोह गरे।’
पाटाकाण्डपछि जेल यात्रा
अखिल नेपाल किसान संघको अगुवाईमा भएको पाटाकाण्डमा मेचीनगरमा विष्णु प्रसाइँ, गौरादहबाट हिरा थापा र चन्द्रगढीबाट भीम कुँवरले नेतृत्व गरेका थिए। त्यही आन्दोलनमा उनी फेरि पक्राउ परे। ‘६–७ महिना जेल बसें,’ प्रसाइँ भन्छन्, ‘तर, पार्टीप्रतिको जिम्मेवारी र जनताप्रतिको समर्पण र दायित्वबाट कहिल्यै विचलित भइनँ।’
बहुदलीय व्यवस्था लागू भएपछि राजनीतिक माहोल अलि सुध्रिएको थियो। सामन्तवादी शासन व्यवस्थाविरुद्ध अघि बढेका उनका पाइला विस्तारै सशक्त रुपमा उचाइ लिँदै थिए।
त्यही क्रममा उनी जनताको प्रतिनिधि भए। उनी २०४४ सालमा धाइजन गाविसको प्रधानपञ्च भए। ‘तर, २०३६ सालतिर पार्टी भित्रैबाट जिम्मेवारीविहीन गर्ने कोसिस भयो,’ उनले थपे, ‘अमृत कामरेडसँग कुरा गरेपछि त्यो समस्या पनि हल भयो।’ प्रधानपञ्च भएपछि उनी गाउँको विकासमा जुटे।
कोदालो बोकेर आफैँ बाटो खन्न, तटबन्ध बनाउन पुग्ने प्रसाइँको अगुवाईमा विकासले फट्को मार्याे। ‘तत्कालीन प्रमुख जिल्ला अधिकारीले पञ्चहरुलाई धाइजन गएर विष्णु प्रसाइँको काम हेर, त्यतिकै पैसा खान पाउँछौ? भन्थे,’ उनले विगत कोट्याउँदै भने, ‘लगत्तै तटबन्ध निर्माण गर्नका लागि १ लाख ६५ हजार रुपैयाँ बजेट प्राप्त भयो, हामीले दोगुणा काम गर्यौं।’
जनपक्षीय मञ्च गठन गरेपछि २०४५ साल असार महिनामा प्रसाइँ पक्राउ परे। २०४५ असार १५ गते हजुरआमाको निधन भयो। हजुरआमाको काजक्रिया असार २७ गते सकियो। लालपानीबाट २८ गते घर आइपुगेका प्रसाइँलाई प्रहरीले घरैबाट उठायो।
‘१३ महिना इलाम, ११ महिना सिरहा र बाँकी समय राजविराज जेलमा राख्यो,’ कारावासका कठिन दिनको सम्झना गर्दै प्रसाइँले थपे, ‘कारागारमा बस्दा पनि अधिकारको आन्दोलन चलिरह्यो।’
५५ जना अट्ने कारागारमा १ सय ५ जनाभन्दा धेरै कैदीबन्दी राखेपछि आन्दोलन गरेको उनी बताउँछन्। आन्दोलन साम्य पार्नकै लागि रामचन्द्र उप्रेती, डिल्लीकुमार मैनाली र विष्णु प्रसाइँलाई प्रशासनले सिरहा जेल पुर्यायो। २०४८ साल वैशाख ८ गते जेलमुक्त भएपछि उनी खुल्ला राजनीतिमा फर्किए।
२०४८ सालमा पार्टीले सदस्यता वितरण गरेपछि प्रसाइँ औपचारिक रुपमा नेकपा एमालेको कार्यकर्ता भए। ‘२०२७ सालमा अनेरास्ववियुबाट राजनीति शुरु भयो, तर त्यो बेला सदस्यता वितरणमा कडाइ थियो,’ प्रसाइँले थपे, ‘२०४८ सालयता निरन्तर पार्टीकै काममा छु।’
त्यो भन्दा अघि पनि उनी वाम आन्दोलनमा सक्रिय थिए। प्रसाइँ जेल पर्दा घरको व्यवस्थापन उनकी श्रीमती लताले गरिन्। ‘मेरो सफलतामा लताको अमूल्य योगदान छ,’ उनले भने।
जेलमुक्त भएपछि एमाले जिल्ला कमिटीमा रहेर १८ वर्ष काम गरेका प्रसाइँ २०४९ सालमा जिविस सदस्यमा उठेका थिए। ‘तर, पार्टीको अन्तरघातबाट हारेँ,’ उनले भने।
निष्ठाको राजनीति
२०५४ सालमा जिविस उपसभापति भए उनी । पार्टीप्रति उनी यति कटिबद्ध थिए कि ज्यान गए पनि पार्टी निर्णयविपरीत जाँदैनथे।
‘केन्द्रीय कमिटीको निर्णय मान्ने र सूर्य चिन्ह मेरो हो भन्ने सोच्छु,’ प्रसाइँले थपे, ‘दुई सभापतिमा मैले अर्जुन राई रोजें, फेरि नरेश खरेललाई पठाइयो, तर चिन्ह तारा थियो उहाँसँग जान सकिनँ।’
२०५६ सालमा पार्टी विभाजन हुँदा उनी ठूलो पीडामा परे। उनीमाथि जिम्मेवारी पनि थपियो। सोही सालको चुनावमा सांसदमा लडेका प्रसाइँले १७,८५२ मत प्राप्त गरे। ‘तर, यो क्षेत्रमा कांग्रेसले जित्यो,’ उनी भन्छन्, ‘त्योभन्दा अघिको निर्वाचनमा १५ हजार मत ल्याएर एमालेका देवी ओझा विजयी हुनुभयो, मत त बढ्यो तर कांग्रेसले जित्यो।’
चेतनास्तर बढ्दै गएपछि निष्ठाको राजनीतिमा होमिएका प्रसाइँले औपचारिक शिक्षा एसएलसीसम्म लिएका छन्। कक्षा ५ सम्म आठराई हामपाङमा पढेका प्रसाईले ६ देखि ९ सम्म धुलाबारी हाइस्कूलमा पढे। ९ कक्षामा पढ्दा नै जेल परेका उनले आठराईबाट एसएलसी पास गरे।
‘पीपी सिटौला, नरेश शाक्यलगायतका कम्युनिष्ट पार्टीको अगुवाई गर्ने शिक्षक हुनुहुन्थ्यो,’ उनले आठराईमा पढ्नका लागि देखिएको अप्ठ्यारो सम्झिदै थपे, ‘उहाँहरुले एड्मिसन गर्न भन्नुभयो, तर बुवा मान्नु भएन, अनि मामालाई भनें, झापा फर्किने दिन बुवाले पढ्छस् भने राम्रो पढ्नु भन्नुभयो।’
र, एसएलसीमा उनी पास पनि भए। त्यसपछि पढाई रोकियो। २०५१ सालमा चिया विकास निगमको कार्यकारी अध्यक्ष भएका प्रसाइँले २०५६ सालको निर्वाचनमा पाएको असफलता चिर्न चाहन्थे।
पार्टीको पक्षमा लागेर काम गरेका प्रसाइँको नाम सांसदका लागि पुनः सिफारिस गरिएको थियो। तर, केन्द्रीय तहबाट नरेश खरेलको नाम सांसदका लागि आयो।
‘त्यति बेला मैले १७ वर्ष जेल बस्ने योद्धा भएको नाताले नरेशजीलाई जिताउन लागे, पार्टीको निर्णय मानेर जनताका घरघरमा पुगेर एमालेको पक्षमा भोट हाल्न आग्रह गरेँ,’ प्रसाइँले भने, ‘दोश्रो संविधानसभामा टिकट पाउँछु होला भन्ने लागेको थियो, तर त्यहाँ पनि नेताहरुको भागबण्डामा परिनँ।’
दोश्रो संविधानसभामा प्रसाइँको नाम सभासदका लागि छानिएको थियो। तर, अन्तिम समयमा एमालेले जिल्ला अध्यक्ष रविन कोइरालालाई उठाउने निधो गर्यो।
‘पार्टीले मलाई नउठाउने निर्णय गरेपछि धेरै साथीहरु विद्रोह गर्ने तयारीमा थिए,’ उनले भने, ‘रविन कोइराला, सूर्य चिन्ह र एमाले हाम्रो संगठन हो भनेर मैले नै रोकें।’
पार्टीले जे निर्णय गरे पनि उनले स्वीकारेका छन्। उनी भन्छन्, ‘म पार्टीप्रति प्रतिवद्ध छु, पार्टी नीतिविरुद्ध जाने सोच कहिल्यै आएन, आउने छैन पनि।’
एमालेभित्र नेताहरु आउने जाने क्रम चलिरह्यो, त्यो क्रम जारी छ। तर, नेता विष्णु प्रसाइँ यस्ता सदावहार वामयोद्धा हुन् जसले पार्टी, कार्यकर्ता र जनताको पक्षमा सधैं लडिरहने प्रतिज्ञा गरेका छन्।