प्रदेश ३ सरकारले मकवानपुरको धियाँलमा यूरेनियमको सम्भाव्यता अध्ययन गर्ने

हेटौंडा । प्रदेश नम्बर–३ सरकारले पूर्वी मकवानपुरको बकैया गाउँपालिका–२ स्थित धियाँलमा रहेको यूरेनियमको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयले यूरेनियम खानीको सम्भाव्यता अध्ययन गर्न लागेको हो । यूरेनियमको सम्भाव्यता अध्ययन गर्नका लागि चालु आर्थिक वर्षमा दश लाख रुपैयाँ वजेट समेत छुट्याइएको प्रदेशको उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो । त्यस क्षेत्रमा यूरेनियम छकी छैन भन्ने बिषयमा अध्ययन गरेर प्रतिवेदन तयार पार्न लागिएको हो । प्रदेशमा रहेको बिभीन्न खानीको अध्ययन गर्ने योजना अनुसार काम गरिएको मन्त्री नेपालले वताउनुभयो ।
दुई दशकअघि युरेनियमको खानी पत्ता लागेको थियो । गाउँमा बहुमूल्य युरेनियमको खानी फेला परेपछि उत्साहित गाउँले आजभोलि दिक्क छन् । उनीहरूको अपेक्षा थियो, खानीले गाउँको विकास हुन्छ । तर युरेनियम खानी धियाँलका लागि रोगको भकारी बनेको छ । खानी हुँदै बग्ने पानी खान बाध्य स्थानीय क्यान्सरलगायत घातक रोगहरूको सिकार भएका छन् ।
लामो समयदेखि खानी उत्खनन हुन नसकेपछि उनीहरूले आफ्नो बस्ती स्थानान्तरण गरिदिन सरकारसँग माग गरेका छन् । धियाँलस्थित कालापानी, चाँदे, तीनभँगाले र छतिवनस्थित मामदमार क्षेत्र युरेनियमको विकिरणबाट प्रभावित छन् । विकिरणयुक्त पानी खाँदा क्यान्सर भएर १२ जना स्थानीयले अकालमा नै ज्यान गुमाइसकेको कालापानीकी कान्छीमाया स्याङ्तानले बताउनुभयो ।
‘खानेपानीको अर्को विकल्प छैन, पहाडबाट रसाएको पानी खाँदा धेरैले ज्यान गुमाइसकेका छन’, उहाँले भन्नुभयो, ‘सरकारले आजसम्म केही गरेको छैन । बरु हामीलाई यहाँबाट अन्यत्र सारिदिए हुन्थ्यो ।’ खानी स्रोतबाट आएको पानी खाँदा झाडापखाला लाग्ने, शरीरमा खटिरा आउने गरेको स्थानीय लालबहादुर स्याङ्तानले बताउनुभयो ।
प्रदूषित पानीकै कारण आफन्त गुमाएका स्याङ्तान यो ठाउँमा बस्ने रहर नभएको बताउँछन् । ‘क्यान्सर भएर दाजु बित्नु भयो, पानीकै कारण यहाँका मान्छेको ज्यान पनि सुकेको छ’, उनले भने, ‘मान्छेमात्र होइन खानी क्षेत्रको जंगलसमेत राम्ररी फस्टाएको छैन ।’ अरु ठाउँको जंगलमा ठुल्ठूला रुख भए पनि यहाँ भुइँमै हराउँला जस्तो जंगल रहेको उनले बताउनुभयो ।
कालापानी फेदीमा भूमेश्वरी प्राविका विद्यार्थी पनि खानी भएको पहाडबाटै बग्ने पानी खान बाध्य छन् । यहाँका स्थानीयको स्वास्थ्यमा खानीले पारेको असरबारे अहिलेसम्म अनुसन्धान भएको छैन । स्थानीय स्वास्थ्यकर्मी प्रकाश काउछा मगरले यहाँको पानी स्वास्थ्यका लागि हानिकारक भए पनि खानेपानीको विकल्प नभएको बताउँछन् ।
खानी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेर युरेनियम उत्खनन् गर्न पहल गरिरहेको बकैया गाउँपालिका–२ धियाँलका अध्यक्ष वीरमान बलले बताउनुभयो । ‘स्थानीय सरकारले चाहेर मात्रै केही गर्न सकिने अवस्था छैन’, उनले भने, ‘सम्बन्धित निकायमा हामीले यसबारे ध्यानाकर्षण गराए पनि खासै चासो दिएको छैन ।’
बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले बस्ती स्थानान्तरण गर्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । ‘यहाँको बस्ती अन्यत्र सारेर खानी उत्खनन गर्न हामी पहल गर्छौं’, उनले भने । यहाँ करिब सय परिवारको बसोबास छ । सरकारले खानी उत्खनन गर्ने हल्ला लामो समयदेखि चले पनि सरकारले आधिकारिक रूपमा खानीको परीक्षण गरेको छैन । तर बर्से्नि देसी विदेसी अनुसन्धानकर्ता युरेनियम अनुसन्धानका लागि यहाँ आउने गरेका छन् ।
पहिलो पटक त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभागका प्राध्यापक देवीदत्त पौडेलको सुपेरीवेक्षणमा अर्जुन पाठकले गरेको अध्ययनमा मकवानपुरको सिवालिक क्षेत्रमा सघन अक्साइडका रूपमा युरेनियम रहेको पत्ता लगाएका थिए । युरेनियम सबैभन्दा बढी पारमाणविक भार भएको रेडियोधर्मी धातु हो । २३८ पारमाणविक भार हुने यो धातुले लगातार रेडियोधर्मी विकिरण फ्याँकिरहने भएकाले सीमित आयु हुन्छ ।