मकवानपुर भिमफेदीका युवा विदेशको जागिर छोडेर तरकारी खेतीमा
हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ५ अगौटेका किसान गौतम वाईवाले नमुना रुपमा तरकारी खेती गर्न सुरु गर्नु भएको छ । ६ वर्ष सम्म खाडी मुलुक दुवइमा कठिन श्रम गर्नु भएका वाइवाले अव भने आफ्नै खेतवारीलाई सदुपयोग गर्दै नमुना रुपमा खेती गर्न लाग्नुभएको हो ।

अहिले वाईवाको नमुना तरकारी टनेलमा लटरम्म रुपमा टमाटर, भेण्टा, काउली, जुकिनी फर्सी, चमसुर फेलेको छ । थोरै लगानीबाट पनि धेरै आमदानी लिन सफल भएकोमा उहाँ आफै दंङ्ग पर्नु भएको छ ।

विदेशमा कठिन श्रम गर्नुपर्ने बाध्यता भोग्दै आएपनि अहिले भने आफ्नै बारीमा तरीकारी खेतीबाट राम्रो आमदानी लिन सफल भएको वताउँदै वाइवा भन्नुहुन्छ–‘छ वर्ष सम्म विदेशमा कठिन श्रम गरे । तर, पनि धेरै पैसा कमाउन सकिन अहिले भने आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट एक वर्षमा पाँच लाख रुपैयाँ सम्म आमदानी लिन सफल भए ।’

पाँच लाख रुपैयाँ लगानीमा उहाँले ७ रोपनी जग्गामा तरकारी खेती सुरु गर्नु भएको हो । अव भने आफ्नै अरु एक विगाहा जग्गा र अरु दुई विगाहा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने उहाँले वताउनुभयो ।
विगत साढे दुईवर्ष अगाडी देखि तरकारी खेती सुरु गर्नु भएका वाइवाले गाउँभरीमा नमुना तरकारी खेती गर्ने योजना वनाउनुभएको छ । वेमौसमी र मौसमी तरकारी खेतीबाट राम्रो आमदानी लिन सकिने उहाँको विस्वास छ ।

उहाँलाई तरकारी खेती गर्नका लागि भिमफेदी गाउँपालिकाले हाते ट्याक्टर र टनेलका लागि प्लाष्टिक अनुदान लिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले वताउनुभयो । नमुना रुपमा तरकारी खेती गर्नका लागि सुरु गरेका किसानका लागि स्थानीय, प्रदेश र संघिय सरकारले अनुदान दिनुपर्ने अध्यक्ष लामाले वताउनुभयो ।










