सामुदायिक वनमा लगाएको कर हट्दैन–मन्त्री नेपाल
हेटौंडा । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले सामुदायिक वनमा लगाएको कर नहट्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले हेटौँडामा आज गरेको सामुदायिक वनको समस्या र सम्भवना विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री नेपालले सामुदायिक वनमा लगाएको कर जायज भएको भन्दै मन्त्रीको हैसियतले यसको जिम्मेवारी लिने बताउनुभयो ।
ऐन भर्खरै कार्यान्वयनमा आएको भन्दै उहाँले सामुदायिक वनको मर्म विपरित भए केही समयको परिक्षणपछि सरोकारवालासंग छलफल गरी संशोधन गर्न तयार रहेको बताउनुभयो । वन, उद्योग लगायतका क्षेत्रबाट कर संकलन गरेर नै राज्य संचालन हुने बताउँदै मन्त्री नेपालले कर सामुदायिक वनमा कर लगाउने अधिकार प्रदेशलाई रहेको स्पष्ट पार्नुभयो । सामुदायिक वनले परम्परागत सोच त्यागी नविनतम ढंगबाट यसको सदुपयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति रमा आले मगरले आफुहरुले पनि तेहेरो करको विषयमा समितिमा धेरै छलफल गरेको बताउँदै यसलाई एकद्वार प्रणालीमार्फत संकलन हुनेपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य मुनु सिग्देल र कुसुमकुमार कार्कीले पनि सामुदायिक वनमा अहिले उठेको करको समस्या समाधानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य शान्ता न्यौपाने, ३ नम्बर प्रदेश अध्यक्ष विनोद सापकोटा, सदस्य रामहरी चौलागाई, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल, डिभिजन कार्यालय राप्तिका प्रमुख दिर्घनारायण कोइराला, फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले राज्यले सामुदायिक वनमाथि लगाएको तेहेरो कर खारेज गर्नुपर्ने, राज्यले समय समयमा अनावश्यक रुपमा निर्दे्शिकामार्फत लगाईने बन्देजहरुको खारेज गर्नुपर्ने लगायतबारे ध्यानाकर्षण गराएका थिए । प्रस्टखवरको सहयोगमा ।







