प्रदेश ३ का किसानलाई सरकारको अनुदानै अनुदान

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले मेहनत गरेर काम गर्ने किसानहरुका लागि अनुदान नै अनुदानका कार्यक्रम ल्याएको छ । प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयलय मेहनती किसानका निम्ती अनुदानका कार्यक्रम ल्याएको हो । किसानका निम्ती धेरै क्षेत्रमा चालु आर्थिक वर्षमा बजेटनै छुट्याएर काम गर्न लागिएको छ ।
कृषि उत्पादनको क्षेत्रमा किसानलाई लक्षित गरेर अनुदानका कार्यक्रम ल्याइएको प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले जानकारी दिनुभयो । निजी क्षेत्र, सहकारी संगको सहकार्यमा ५० प्रतिशत अनुदानमा आधुनिक फलफुल नर्सरी विकास तथा विस्तार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ छुट्याएर काम गर्न लागिएको मन्त्री लामाले वताउनुभयो ।
यस कार्यक्रमबाट मकवानपुर, चितवन, रामेछाप र धादिङ्ग जिल्लाका किसान लाभान्वीत हुने छन् । त्यसैगरी निजी क्षेत्र, सहकारी र समुह संगको साझेदारीमा ५० प्रतिशत अनुदानमा बृहत्तर आलु विकास तथा विस्तार कार्यक्रम गर्न लागिएको छ । यस कार्यक्रमबाट दोलखाको शैलुङ्ग मैलुङ गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिकाका किसान लाभान्वित हुने छन् । यस कार्यक्रमका लागि मन्त्रालयले ३ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएर चालु आर्थिक वर्षमा काम गर्न लागेको हो ।
त्यस्तै मागमा आधारित कोल्ड च्याम्वर, कोल्डस्टोर, आलु, किवी, मिश्रीत निर्माणमा पनि ५० प्रतिशत अनुदान दिएर काम गर्ने तयारी थालिएको छ । यसका लागि २ करोड २५ लाख रुपैयाँ वजेट प्रदेश सरकारले छुट्याएको छ । हरेक किसानले आफ्ना खेतबारी बाझो नराखुन र कुनै न कुनै उत्पादनबाट राम्रो आमदानी लिन सकुन भन्ने उदेस्यले अनुदानका कार्यक्रमलाई विशेष जोड दिइएको मन्त्री लामाले वताउनुभयो ।
प्रदेश ३ का १३ जिल्लामा कृषि पकेट क्षेत्र घोषणा
प्रदेश ३ का सबै जिल्लामा कृषि पकेट क्षेत्र घोषणा गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ जिल्लामा पकेट क्षेत्र तथा तथा ब्लक घोषणा गरेर त्यसका लागि करिब ६६ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
मन्त्रालयले नयाँ र पुराना गरी ४ सय ९५ वटा पकेट क्षेत्र र ५६ वटा ब्लकलाई चालु आर्थिक वर्षमा ६६ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।
पुराना पकेट क्षेत्रका लागि ११ करोड ८७ लाख छुट्याइएको छ भने नयाँ पकेट क्षेत्रका लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको सचिव कार्कीले बताए । नयाँ ब्लकका लागि चालु अनुदानतर्फ १५ करोड र पुराना ब्लकका लागि ८ करोड
५५ लाख रुपैयाँ चालु अनुदान छुट्याइएको मन्त्रालयका प्रवक्ता एवं योजना तथा अनुगमन महाशाखा प्रमुख डा. शरणकुमार पाण्डेले जानकारी दिए ।
गत आवमा मन्त्रालयले पकेट तथा ब्लकका लागि २८ करोड रुपैयाँ खर्च गरेको थियो । चालु आवका लागि विभिन्न जिल्लाबाट विशेष गरी तरकारी र फलफूलको पकेट तथा ब्लक स्थापनाका लागि माग आएको बताइएको छ ।
विभिन्न कृषि उपजको पकेट क्षेत्र माग गरिए पनि मकवानपुरमा तरकारी, आलु, मकैको पकेट क्षेत्र स्थापना गरिनेछ भने चितवनमा तरकारी, मौरी, केरा र धानको पकेट क्षेत्र स्थापना गरिने छ ।
धादिङमा तरकारी, आलु र मकैका पकेट क्षेत्र रहनेछन् भने नुवाकोटमा पनि सोही बालीको पकेट क्षेत्र घोषणा गरिने छ । र सुवा, ललितपुर, भक्तपुर, काठमाडौंमा तरकारी र आलुको पकेट तथा ब्लक क्षेत्र घोषणा गरिने मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख पाण्डेले बताए ।
काभ्रेमा तरकारी आलुका साथै अलैंची र कफीको पनि पकेट क्षेत्र हुनेछन् भने सिन्धुपाल्चोकमा तरकारी, आलुका साथै मकै र किबीको पकेट तथा ब्लक स्थापना गरिने छ ।
पाण्डेका अनुसार दोलखामा किबी, तरकारी, आलु र सुन्तलाको पकेट क्षेत्र बनाइनेछ भने आलु र तरकारीका साथै जुनारको पकेट र ब्लक घोषणा गरिने छ । सिन्धुलीमा अदुवा/बेसार, जुनार, मकैको पकेट क्षेत्र घोषणा गरी कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ ।