प्रदेश ३ का दश जिल्लामा १३ वटा शीत भण्डार निर्माण गरिदै

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले काठमाण्डौ उपत्यका भन्दा बाहेकका प्रदेशका जिल्लामा फलफूल तथा तरकारी भण्डारणका लागि शीत भण्डार निर्माण गर्ने भएको छ । प्रदेशका केही जिल्लामा शीत भण्डार निर्माणको काम सुरु भएको छ । यता मकवानपुरको थाहा नगरमा भने शीत भण्डार निर्माणको काम सक्न लागिएको छ ।
विशेषगरी किसानका उत्पादनहरुलाई भण्डार गरेर राख्न सहज होस भन्ने उदेश्यले फलफूल तथा तरकारी भण्डारणका लागि साझेदारीमा शीत भण्डार निर्माणको कामलाई प्रदेश सरकारले ठुलो रकम खर्च गरेर काम गर्न लागेको हो । गतवर्षबाट सुरु गरेको यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा भने झनै प्राथमिकता दिइएको छ । प्रदेशका उपत्यका भन्दा बाहेकका जिल्लामा निर्माण गरिने शीत भण्डारले लाखौ किसानलाई राहत पुग्ने विस्वार सरकारले गरेको छ ।
प्रदेश नम्बर ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष १० वटै जिल्लामा डीपीआर निर्माण गरेर चालु आर्थिक वर्षमा निर्माण गर्नका लागि ४५ करोड रुपैयाँ वजेट छुट्याएर काम गर्न सुरु गरेको हो । प्रदेशको उपत्यका भन्दा बाहेकका १० जिल्लामा शित भण्डार निर्माण गर्ने योजना वनाएको प्रदेश सरकारले पाँच जिल्लामा भने कामनै सुरु भएको प्रदेश नम्बर ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले वताउनुभयो । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा भने शीत भण्डार निर्माणका लागि माग नभएकाले चालु आर्थिक वर्षमा निर्माण गर्न नसकिने वताइएको छ ।
प्रदेश सरकारले चितवन, रसुवा, दोलखा, सिंधुलीमा शीत भण्डार निर्माण गर्ने काम सुरु भएको वताउँदै मन्त्री लामाले भन्नुभयो–‘मकवानपुरको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको शीत भण्डार निर्माणको काम सकिन लागिएको छ । अव यस वर्ष वजेट छुट्याएर गर्न लागिएका जिल्लामा पनि काम सुरु गर्न लागिएको छ ।’
शीत भण्डार निर्माणको काम भने प्रदेशका उपत्यका भन्दा बाहेकका जिल्लामा हरेक जिल्लामा एक एक वटा निर्माण गरिएपनि दोलखा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा भने दुई– दुईवटा निर्माण गर्ने मन्त्री लामाले वताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरणः प्रदेश ३ मा १९ करोड खर्च भयो, ६६ करोड खर्च गरिँदै
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट तथा ब्लक विकास कार्यक्रमतर्फ प्रदेश ३ मा गत आर्थिक वर्ष २०७५/ ०७६ मा २८ करोड ५९ लाख ४९ हजार बजेट छुट्याइएको थियो भने जसमा १९ करोड ७० लाख खर्च भएको छ।
प्रदेश ३ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ५६ ब्लक र ४९५ पकेट रहेका छन्। प्रदेश ३ मा सबैभन्दा धेरै चितवनमा ब्लक पकेट रहेका छन्। पकेट गरेर ७ करोड ३७ लाख खर्च भएको छ भने सबैभन्दा कम २ करोड १९ लाख रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं योजना तथा अनुगमन महाशाखा प्रमुख डा। शरणकुमार पाण्डेलेवताउनुभयो । मन्त्रालय मातहतअन्तर्गतको कृषि ज्ञान केन्द्र कार्यालय, भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रहरूले कार्यक्रम कार्यान्वयन गरेको वताउनुभयो ।
यस वर्ष ६६ करोड
प्रदेश ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ जिल्लामा घोषित कृषिको पकेट तथा ब्लकहरूमा करिब ६६ करोड रुपैयाँ खर्च गर्ने भएको छ।
मन्त्रालयले नयाँ र पुराना गरी ४९५ वटा पकेट क्षेत्र र ५६ वटा ब्लकलाई चालु आर्थिक वर्षमा ६६ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको हो। पुराना पकेट क्षेत्रहरूको लागि ११ करोड ८७ लाख छुट्याइएको छ भने नयाँ पकेट क्षेत्रहरूको लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै नयाँ ब्लकहरूको लागि चालु अनुदानतर्फ १५ करोड र पुराना ब्लकहरूको लागि ८ करोड ५५ लाख रुपैयाँ चालु अनुदान छुट्याइएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं योजना तथा अनुगमन महाशाखा प्रमुख डा। शरणकुमार पाण्डेले वताउनुभयो ।
चालु आर्थिक वर्षको लागि विभिन्न जिल्लाबाट विशेष गरी तरकारी र फलफूलको पकेट तथा ब्लक स्थापनाको लागि माग आएको बताइएको छ। मकवानपुरबाट कोदो र गहत, चितवनमा तरकारी, सुन्तला अलैँची, मौरीपालनको पकेट क्षेत्र माग गरिएको छ। धादिङमा सुन्तला, कागती, अदुवालगायतको पकेट क्षेत्र बनाउने गरी प्रस्ताव आएको छ भने नुवाकोटमा तरकारी, अदुवा, प्याजलगायतका कृषि उपजको ब्लक तथा पकेट क्षेत्रमा माग गरिएको छ। यसैगरी रसुवामा माछा, मुसुरो, धान, आलु, ललितपुरमा तरकारी, च्याउ, किबी भक्तपुरमा आलु च्याउ तरकारीलगायतको ब्लक तथा पकेट क्षेत्रको लागि माग भएका छन्।
विभिन्न कृषि उपजको पकेट क्षेत्र माग गरिए पनि मकवानपुरमा तरकारी, आलु मकैको पकेट क्षेत्र स्थापना गरिनेछ भने चितवनमा तरकारी, मौरी, केरा र धानको पकेट क्षेत्र स्थापना गरिनेछ। धादिङमा तरकारी, आलु र मकैको पकेट क्षेत्र रहनेछन् भने नुवाकोटमा पनि सोही बालीको पकेट क्षेत्र घोषणा गरिनेछ। रसुवा, ललितपुर, भक्तपुर, काठमाडौंमा तरकारी र आलुको पकेट तथा ब्लक क्षेत्र घोषणा गरिने मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख पाण्डेले वताउनुभयो ।
काभ्रेमा तरकारी आलुका साथै अलैंची र कफीको पनि पकेट क्षेत्र हुनेछन् भने सिन्धुपाल्चोकमा तरकारी आलुका साथै मकै र किबीको पकेट तथा ब्लक स्थापना गरिनेछ। पाण्डेका अनुसार दोलखामा किबी, तरकारी, आलु र सुन्तलाको पकेट क्षेत्र बनाइनेछ भने आलु र तरकारीको साथै जुनारको पकेट र ब्लक घोषणा गरिनेछ। सिन्धुलीमा अदुवा(बेसार, जुनार, मकैको पकेट क्षेत्र घोषणा गरी कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।