तिहारको मसला खानमा ध्यान दिन डाक्टरको सुझाव

हेटौंडा । दसैँ–तिहारजस्ता चाडबाडमा अधिकांशले फुड प्वाइजनिङको समस्या भोग्ने गर्छन् । काँचो खानेकुरा प्रयोगमा ल्याउनु, खानेकुरा राम्ररी नपकाउनु, सागपात तथा तरकारी केलाउँदा राम्ररी सफा नगर्नु, मिठाई, फलफूलजस्ता खानेकुरा खुला स्थानबाट किन्नु आदि फुड प्वाइजनिङका कारण हुन् । त्यसैले हामीले तिहारमा खानपानमा विशेष ध्यान दिन आवश्यक छ ।
तिहारमा चिल्लो र गुलियो खानेकुरा बढी प्रयोगमा ल्याइन्छन् । तर, एकैचोटि धेरै चिल्लो र गुलियो खानेकुरा प्रयोगमा ल्याउँदा स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्छ । खासगरी विभिन्न रोगबाट पीडित अर्थात् औषधि सेवन गरिरहेका व्यक्तिका लागि यस्ता खानेकुरा निकै घातक हुन्छन् ।
चिल्लो र गुलियो खानेकुराले कोलेस्ट्रोल बढाउने काम गर्छ । त्यस्तै रक्तचाप, मधुमेह र अम्लपित्तको पनि वृद्धि गर्ने भएकाले मधुमेह, उच्च रक्तचाप आदिका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ ।
तिहारमा मिठाई, सेलरोटी, भाइमसाला, माछामासु अत्यधिक रूपमा प्रयोगमा ल्याउनुहुँदैन, किनकि यस्तो गर्दा शरीरमा कोलेस्ट्रोल र चिनीको मात्रा बढ्ने गर्छ । त्यस्तै बोसोयुक्त खाद्यवस्तुको प्रयोगले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउँछ ।
एनिमल फ्याट अर्थात् घिउ र बोसो स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सेलरोटी बनाउँदा घिउ सकेसम्म प्रयोग गर्नुहुँदैन । स्याचुरेटेड फ्याट कम हुने भटमास र सूर्यमुखीलगायत तेलको प्रयोग गर्नुपर्छ ।
खाली पेटमा सेलरोटी र मिठाई खानुहुँदैन । मीठो खाने नाममा धेरै चिल्लो खाँदा एसिडिटी बढ्छ । हरियो सागपात, तरकारी र फलफूल बढी खानुपर्छ ।
बालबालिकाका हकमा खानपानमा बढी नै ध्यान दिन आवश्यक हुन्छ । अधिकांश समय खेलेर बिताउने भएकाले बच्चा फोहोर हुन्छन् । त्यसैले उनीहरूलाई सफा गरिदिनुपर्छ ।
नियमित औषधि सेवन गरिरहेका व्यक्तिले औषधि खान छाड्नुहुँदैन । त्यस्तै, दीर्घरोग भएका व्यक्तिले खानपानमा सजग रहनुपर्छ । रक्सी सेवनबाट टाढा रहनुपर्छ ।
तिहारको समयमा प्रयोग हुने भाइमसला स्वास्थ्यका लागि राम्रो मानिन्छ । काजु, किसमिस, बदाम, ओखरलगायत स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । अत्यधिक सेलरोटी र मिठाईको सट्टामा भाइमसला खानु उपयुक्त हुन्छ ।