लक्ष्मीपूजाको दिन कुलमान घिसिङ आफैं भारप्रेषण केन्द्रमा खटिए

लक्ष्मीपूजाको दिन विद्युत माग १०८९ मेगावाट रेकर्ड
जनपत्र
११ कार्तिक २०७६, सोमबार ०९:४९

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमाण्ड) १०८९ मेगावाट पुगेको छ । यसवर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको मात्रै पिक डिमाण्ड ३३१ मेगावाट रेकर्ड गरिएको छ ।

प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ साढे ६ बजे पिक डिमाण्ड रेकर्ड गरेको थियो । यो गत वर्षको तुलनामा १६ मेगावाटले कम हो ।

अघिल्लो वर्ष लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड ११०५ मेगावाट थियो । गत आर्थिक वर्षभरिको पिक डिमाण्ड भने १३२० मेगावाट रेकर्ड गरिएको थियो ।

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । औद्योगिक ग्राहकको विद्युत माग करिब ३०० मेगावाट छ ।

भारप्रेषण केन्द्रमा कुलमान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार स्यूचाटारस्थित भारप्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए । घिसिङको साथमा सञ्चालकहरु चेतराज जोशी, विश्वप्रकाश गौतमसहितका प्राधिकरणका उच्च अधिकारीहरु पनि थिए ।

कार्यकारी निर्देशक घिसिङले विद्युतको चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताहरुले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्ब लगायतका विद्युतीय उपकरणहरु, गत वर्षभन्दा यस वर्ष तिहार अघि परेकाले पिक डिमाण्ड नबढेको बताए ।

‘लक्ष्मीपूजाको दिन अधिकतम माग करिब १४ सय मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्तिको जोहो गरेका थियौं, उपभोक्तालाई पनि प्रशस्त विद्युत भएकाले ढुक्क भएर बत्ती बाल्न आग्रह गरेका थियौं, क्षमताको माग अपेक्षाअनुसार बढ्न नसके पनि ऊर्जा खपत बढेको छ, यो प्रणाली संचालनका लागि राम्रो हो,’ उनले भने ।

‘विगतमा लोडसेडिङ हुँदा माग र आपूर्तिको विवरण नै तोडमोड गरी त्यसैमा खेलिँदो रहेछ, अहिले देखिएको वास्तविक डिमाण्ड हो ।’

गतवर्ष जस्तै यसवर्ष पनि फाट्टफुट्ट केही स्थानमा बाहेक लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न सफल भएको प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाको दिनमा काठमाडौंको चपली-शिवपुरी, सुनसरीको दुहवी-धरान, रुपन्देहीको बुटवल-नयाँ मिल र बाँकेको कोहलपुर-गुलरिया ३३ केभी प्रसारण लाइन ट्रिपिङ भई केहीछिन विद्युत् आपूर्तिमा अवरोध भएको थियो । तर तीन लाइनहरुलाई करिब २ मिनेटभित्रै सञ्चालनमा ल्याइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

‘काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बसुन्धरा, धुम्बाराही, सामाखुसी क्षेत्रमा रहेका स्थानीय ट्रन्सर्फमरमा समस्या देखिएको थियो, तयारी अवस्थामा रहेका हाम्रा प्राविधिक टोलीलाई तत्काल खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सफल भयौं,’ प्रवक्ता अधिकारीले भने ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

तीन वर्षअघि प्राधिकरणले लक्ष्मीपूजाकै दिनबाट नेपाललाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरेको थियो । अहिले नेपाल लोडसेडिङमुक्त छ । अनलाई खवरबाट साभार ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*