प्रदेश ३ सरकार अस्पताल सुदृढीकरणमा

जनपत्र
८ कार्तिक २०७६, शुक्रबार ०६:०३

मकवानपुर — प्रदेश ३ सरकार जिल्ला अस्पतालहरूको सुदृढीकरणमा जुटेको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले विभिन्न समयमा गरेको अनुगमनको क्रममा सरकारी अस्पतालको सेवा कमजोर रहेको पाइएको थियो । प्रदेशभर रहेका सरकारी अस्पतालमध्ये चालु आर्थिक वर्षमा आठ वटा जिल्ला अस्पतालको सेवा सुदृढीकरण गरिने भएको हो । मन्त्रालयले आठ जिल्ला अस्पतालको सुदृढीकरण गर्न नौ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

‘प्रायजसो जिल्ला अस्पताल रेफर सेन्टरको रूपमा रहेको विभिन्न अनुगमनको क्रममा देखियो,’ सामाजिक विकासमन्त्री युवराज दुलालले भने, ‘संघीय सरकारबाट सहयोग प्राप्त नभएका अस्पतालहरूको सुधारका लागि बजेट विनियोजन गरेका छौं ।’ भौतिक पूर्वाधार वा अस्पताललाई आवश्यक प्रविधि सहयोग गर्ने तयारी भइरहेको उनले बताए । प्रदेश ३ सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार अस्पतालको सेवा विस्तार गरी सुविधासम्पन्न बनाउने लक्ष्यसहित कार्यविधि बनाइसकेको र सोही आधारमा अब अगाडि बढ्ने मन्त्री दुलालको भनाइ छ । ‘अस्पतालहरूलाई विनियोजन गरिएको बजेट खर्च गर्न कर्मचारीको समेत अभाव रहेको देखियो । त्यसकारण कार्यविधि नै बनाएर आवश्यक पुँजीगत खर्च गर्न सक्ने गरी अगाडि बढ्दै छौं,’ मन्त्री दुलालले भने ।

जिल्ला अस्पतालबाट अधिकतम गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उद्देश्यले गत आर्थिक वर्षबाटै यो कार्यक्रम सुरु गरिएको थियो । चालु आवमा भक्तपुर अस्पताललाई एक करोड ५० लाख, हेटौंडा अस्पताललाई एक करोड ५० लाख, त्रिशूली अस्पताल नुवाकोटलाई एक करोड २५ लाख, सिन्धुली अस्पताललाई एक करोड २५ लाख, चौतारा अस्पताल सिन्धुपाल्चोकलाई एक करोड, धादिङ अस्पताललाई एक करोड २५ लाख, रामेछाप अस्पताललाई एक करोड र रसुवा अस्पताललाई ७५ लाख बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

अस्पतालमा न्यूनतम सेवा मापदण्डअनुसारको निर्देशिका मन्त्रालयबाट पठाएपछि अस्पतालले सेवा थप गर्न योजना बनाएर सुदृढीकरणको काम अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । गत वर्षबाट नै जिल्ला अस्पताल सुधार्ने प्रयास गरे तापनि सोचेअनुरूप काम गर्न नसकेको भन्दै यो वर्ष प्रभावकारी रूपमा काम गर्न रकम वितरणमा मापदण्ड तोकेको मन्त्रालयका नीति तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टले जानकारी दिए ।

विनियोजित रकम सदुपयोगको विषयमा मन्त्रालयले अनुगमनसमेत गर्ने विष्टले बताए । ‘मन्त्रालयले काम सुरु गरेसँगै अनुगमन र मूल्यांकन गर्नेछ,’ विष्टले भने । सुदृढीकरण कार्यक्रमका नाममा दिइएको रकमले जिल्ला अस्पतालहरूले आवश्यक औजाररउपकरण खरिद तथा अन्य पूर्वाधार निर्माण, फोहोरमैला व्यवस्थापन तथा संक्रमण रोकथाम कार्यक्रम गर्नुपर्नेछ । भौतिक संरचना उपकरणरऔजार मर्मतलगायतका कार्य गर्न सक्ने मापदण्ड रहेको छ । कान्तिपुर दैनिकमा सुवास बिडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*