मकवानपुरमा प्रविधिले सहज बनायो कृषि कर्म
७१ वर्षीय यमलाल दाहाललाई पछिल्लो दुईवर्षयता अन्न भित्र्याउन खासै समस्या छैन। त्यसअघि गाउँमा युवा नभएको कारण धान, गहु, मुसुरो, तोरीलगायतको अन्न भित्र्याउने समयमा साह्रै सकस हुन्थ्यो। अहिले कामदारको अभाव पूरा गरेको छ कृषि औजारले।
‘आफू सक्दिनथे, केटा(युवा)हरू कोहि नपाईने हैरान हुन्थ्यो’ उनले भने, ‘गाउँमा काम गर्न सक्ने बल भएका कोही छैनन्, कोहि विदेश कोही सहरमा जागिरे।’
वैदेशिक रोजगारीको कारण गाउमा युवा छैनन्। अब युवामात्रै हैनन युवतीहरूपनि हम्मेसी भेटिदैनन्। अहिले धान भित्र्याउने समय सुरु भएको छ। ‘पहिले–पहिले हामी महिलाको काम धानको निन सोहोर्ने मात्रै हुन्थ्यो, ओसार्ने, धान झार्ने पुरुषले गर्थे, अब काम गर्नसक्ने पुरुष नै छैनन् गाउँमा, धन्न मेसिन आएको छ’, स्थानीयले सिताकुमारी घिमिरेले भनिन्, ‘मेसिनले नै सबै गर्छ अचेल।’ धान, गहु हातले चुट्नुपर्दा हुने झन्झट पनि टरेको घिमिरेले बताईन।
काम गर्ने मानवशक्तिलाई लाग्ने ज्यालालगायतको तुलनामा मेसिन नै सस्तो भएको उनले बताईन। स्थानीय तुलसा दुलाल भन्छिन्, ‘अब यो मेसिन आएपछि हामी महिलाकै भरमा सबैथोक अन्न भित्रन्छ घरमा, पहिले अर्मपर्ममा काम गर्नुपर्ने, पालो कुर्नुपर्ने अझैं झन्झटिलो थियो।’ पहिलो एकै घरको अन्न भित्र्याउन २÷३ दिनसम्म लाग्ने गरेपनी,अचेल मेसिनको सहायताले एकै दिनमा ४÷५ घरको काम भ्याइने भएकोले काममा सहजता मात्रै हैन, छिटो छरितो पनि भएको छ।
गाउँमा अहिले दैनिक ज्याला कामको प्रकृतिअनुसार प्रतिकामदार ५ सयदेखि १ हजार रुपैयाँसम्म चलेको छ। धान भित्र्याउने यो मेसिनको ज्याला प्रतिघन्टा १ हजार ६ सय पर्छ। यसले ४/६ जना कामदारले दिनभरमा गर्नेकाम एकै घण्टामा गर्न सक्छ। ‘काट्ने उठाउने, ओसार्ने सबै हामी महिलाले गर्छौ, झर्ने काम मेसिनले गर्छ, नगद दिनपर्छ, पर्म चल्दैन त्यै मात्रै समस्या हो’, लक्ष्मी दाहालले भनिन्, ‘पाखुरी साटिन्थ्यो (पर्ममा काम हुन्थ्यो) अहिले मेसिनलाई नगद दिनपर्दा त्यस्को जोहो गर्न अलि समस्या हुनेमात्र हो, अहिले बाली भित्र्याउन सजिलै छ।’
तर यस्ता कृषि औजार सहज रूपमा उपलब्ध नहुँदा पालो कुर्नुपर्ने समस्या रहेको लक्ष्मी दाहालले बताईन। ‘गाउँमा धेरै मेसिन छैन, पालो कुरेर बस्दाबस्दा काटेर सुकाको धान पानीले भिजाउला भन्ने चिन्ता छ’, तुलसा दुलालले भनिन्, ‘अर्को बाली लगाउने चटारोले पनि पिरोल्छ।’
प्रदेश सरकारले कृषिमा यान्त्रिककारण गर्ने अभियान नै सुरु गरेको छ। अब गाउँमा एक वा दुई वटा कृषि औजारको भरमा पर्खेर बस्दै समस्या झेल्नु पर्दैन। सहकारीमार्फत् प्रदेश सरकारले दिने अनुदानमा कृषि औजार गाउँ भित्र्याउन सकिन्छ। कृषि औजार खरिदको लागि प्रदेश सरकारले ७५ प्रतिशतसम्म अनुदान दिने गरेको प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलका स्वकीय सचिव अनुप पौडेलले बताए। तर यस्तो अनुदानले परम्परागत कृषिमा आधारितलाई समेट्न सकेको छैन।
प्रदेश ३ का सबै जिल्लाका व्यवसायिक किसानलाई कृषियन्त्र खरिद गर्दा ७५ प्रतिशत अनुदान दिने गरिएको छ। तर परम्परागत ढांचामा,आफ्नो निजी जग्गामा खेति गर्ने साना किसानलाई पनि समेट्ने योजनाको आवश्यकता खड्किएको छ। प्रदेशको कृषि विकास निर्देशनालयले कृषि यान्त्रिकरण अनुदान कार्यक्रम कार्यान्वयन सुरु गरिसकेको छ। पहिलो चरणमा फोर ह्विल ट्याक्टर, ढुवानी ट्रक, कम्बाइन्ड हार्भेष्टर, सिंगल क्याप पिकअप र लेजर ल्याण्ड लेभेलर यन्त्रलगायत उपकरण आवश्यक रहेको निजी, सहकारी तथा सामूहिक फर्मधनीले अनुदानको लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।
ग्रामिण भेगमा रहेका साना किसानलाई पनि यस्ता अनुदान कार्यक्रमले समेट्ने नीति ल्याईनुपर्ने सानाकिसान कृषि सहकारी संस्थ्या आमभन्ज्याङ्ग अध्यक्ष संगिता हुमगाईले बताईन। सामूहिक कृषिमा मात्रै यस्ता अनुदान सिमित गर्दा साना किसानले राहत पाउन नसलेको उनको भनाई छ। साना किसानलाई पनि राहत दिदैं जीवनस्तर उकास्न प्रदेश तथा स्थानीय सरकारले ध्यान दिनुपर्ने उनले बताईन। नेपाल न्युजबाट साभार ।