राँगाको बलि दिएर मकवानपुरको चित्लाङमा ऐतिहासिक मेला सकियो

जनपत्र
३० आश्विन २०७६, बिहीबार १२:००

चित्लाङ — जिल्लाको एकमात्र पर्यटकीय गाउँ चित्लाङस्थित माझगाउँको डबलीमा सोमबार बेलुकादेखि चल्दै आएको कृष्णलिलासहितको कार्त्तिके नाँच अजंगको राँगाको बलि दिएर दिएर बुधबार सकिएको छ ।

जात्रा भर्न आएका सयौंको माझमा भैरवको मुखुण्डो लगाएका कालभैरवले अजङको राँगाको गर्धन रेटेर रगत पिएका थिए । उनले मात्र होइन, गणेश, बराही, महालक्ष्मी र कुमारीको मुखुण्डो लगाएकाहरुले भुईंमा लडेको रागाँको घाँटीमा मुख लगाएर रगत पिएका थिए । कृष्णले कंशलाई मारेको खुशीमा उनीहरुले राँगाको बलि दिएका हुन् । बलि दिएको राँगाको मासु प्रसादको रुपमा नेवार समुदायमा बाँड्ने गरिन्छ ।

पाटन र किर्तीपुरबाट स्थानान्तरण भएर आएका चित्लाङका नेवार समुदायले करिब ५ सय वर्षदेखि यो जात्रा दसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि तीन दिनसम्म संचालन गर्ने गर्छन् । मेलामा बनिया र बाठो नाच पनि प्रदर्शन गर्छन् । बनिया नाच चित्लाङको मौलिक नाँच हो ।
चित्लाङका नेवार समुदायमात्र होइन, बज्रवराही, मार्खु, कुलेखानीलगायतका क्षेत्रका बासिन्दाहरु समेत रातभर जात्रामा बसेका थिए । वृद्धदेखि बालकसम्म जात्रामा सहभागी थिए । पुरुषको भन्दा महिलाहरुको संख्या अधिक थियो ।

कृष्णलिलामा नेवारी, हिन्दी र नेपाली भाषा प्रयोग गर्ने गरिएको छ । कृष्णलिला ऐतिहासिक पोशाककासाथ रोचक ढङ्गले प्रस्तुत गरिएको थियो । यो मेला हेर्न पाटन र किर्तीपुरवासी पनि सयौको संख्यामा आएका थिए । चन्द्रगिरीको काखमा भएको यो मेलाको अवलोकन गर्न राजधानीबाट विभिन्न संचारमाध्यमका संचारकर्मीहरु पनि थिए ।

‘यो मेला पाँच सय वर्षअघि ललितपुरको पाटनवाट सापटीको रुपमा ल्याएको भन्ने किम्वदन्ति रहेको छ,’ स्थानीय युवक निर्मल बलामीले भने, ‘त्यसबेलादेखि यो निरन्तर रुपमा संचालन हुँदै आएको छ, बिचमा एक, दुई वर्ष मेला संचालन रोकियो थियो । त्यतिवेला गाउँमा रोग व्याधीले सतायो त्यसैले मेलालाई निरन्तरता दिईरहेका छौं ।’ मेला गरिएन भने गाउँमा अनिष्ट हुने, रोगव्याधी फैलिने विश्वास स्थानीयावासीमा छ ।
दसैंमा घर आएकाहरु अधिंकांशहरु यो मेला सम्पन्न नभएसम्म फर्कदैनन् ।

साँस्कृतिक र धार्मिक स्थलको रुपमा पहिचान बोकेको थाहान नगरपालिका—९ मा रहेको चित्लाङ मकवानपुर जिल्लाको एकमात्र ऐतिहासिक थलो हो । सरकारले ५ वर्षअघि चित्लाङलाई पर्यटन गाउँको रुपमा घोषणा गरेको थियो । जसले गर्दा चित्लाङमा आन्तरिक एवं बाह्य पर्यटकहरुको आउन थालेका छन् । चित्लाङको माझगाउँमा सम्राट अशोकले निर्माण गरेको अशोक कालिन चैत्य छ । जसको अध्ययन र अनुसन्धान गर्न विदेशीहरु आउने गर्छन् । प्रताप विष्टले लेखेको समाचार इकान्तिपुरबाट साभार । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*