मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा धारिलो हतियारको प्रयोग गरि गएराती एक जनाको हत्या गरिएको छ । अरु दुईजनालाई पनि धारिलो हतियार प्रयोग गरेर घाईते बनाइएको छ ।
गएराति बकैया गाउँपालिका ३ जलजले स्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लो लाई सोही ठाउँमा बस्ने ५० बर्षीय सुक बहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताउनुभयो । धारिलो हतियार प्रहार गरेर घाईते भएकी सन्तमायाँको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा राती दश वजे मृत्यु भएको हो ।
पाख्रिनले धारिलो हतियार प्रहार गरी २ जना घाइते बनाएका छन् । घाइते हुनेमा मुतकको श्रीमान ५५ बर्षीय काल बहादुर लो र स्थानीय २६ बर्षीया दिबिमाया मोक्तान रहेका छन ्। उनिहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लामो समयदेखि आपसी झै झगडाका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्विक अनुसंधानबाट खुलेको छ ।
हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले गएरातीनै हतियार सहित पक्राउ गरिसकेको र उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र उनिमाथि थप अनुसन्धान भइरहेको उपरीक्षक सिंहले जानकारी दिनुभयो ।