राजधानी टुंग्याउन मुख्यमन्त्री पौडेलको कसरत

राजधानी टुंगो लगाउन नसक्दा दुईतिहाइ नेतृत्वको प्रदेश सरकार आलोचित छ ।
जनपत्र
२७ आश्विन २०७६, सोमबार ०८:०४

२० महिनादेखि अन्योलमा रहेको प्रदेश ३ को राजधानी टुंग्याउन मुख्यमन्त्री डोरमणि पौडेलले कसरत बढाएका छन् । प्रदेश सरकारकै कारण राजधानी टुंग्याउन ढिलाइ भएको गुनासो बढिरहेका वेला मुख्यमन्त्री पौडेलले कसरत थालेका हुन् ।

मुख्यमन्त्री पौडेलले हेटौँडालाई नै प्रदेशको स्थायी राजधानी  कायम राख्न खोजेको सांसदहरूले आरोप लगाइरहेका छन् । तर, मुख्यमन्त्री पौडेल भने राजधानी टुंग्याउन सक्रिय बनेका छन् । त्यसक्रममा उनले दसैँअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको प्रधानमन्त्री ओलीसँगको भेटमा उनले राजधानी टुंग्याउन प्रदेश सभाले कार्यविधि पारित गरिसकेको भन्दै सांसदहरूले प्रक्रिया अघि बढाउन माग गरिरहेको अवगत गराएका थिए । उनले हरेक बैठकमा सांसदले राजधानी टुंग्याउन माग गरिरहेको र प्रतिपक्षले बारम्बार दबाब दिइरहेको भन्दै प्रधानमन्त्रीसँग सहजिकरणको अपेक्षा गरेका थिए ।

प्रदेश ३ संसद्मा सत्तारूढ दल नेकपाको दुईतिहाइ बहुमत छ । तै पनि स्थायी राजधानीको टुंगो लाग्न सकेको छैन । नेकपाकै कयौँ नेता आफूअनुकुल राजधानीको माग गरिरहेका छन् । जसका कारण, मुख्यमन्त्री पौडेलले समेत दबाबमा छन् । पार्टीभित्रै मतभिन्नता रहेकाले मुख्यमन्त्री पार्टी नेतत्वको ठोस निर्देशनको प्रतीक्षामा रहेको नेकपाका एक सांसदले बताए । पौडेलले यसअघि पनि प्रधानमन्त्रीसँग राजधानी टुंग्याउने सवालमा छलफल गरेका थिए । त्यसवेला प्रधानमन्त्रीको सल्लाहअनुसार राजधानी टुंग्याउन सबै सांसदलाई सहमत हुन मुख्यमन्त्री पौडेलले आग्रह गरे पनि सत्तारूढ दलकै केही सांसदले हेटौँडा राजधानी हुने सवालमा आपत्ति जनाएपछि विषय सेलाएको थियो ।

प्रधानमन्त्रीको आश्वासन
प्रधानमन्त्री ओलीसँग दसैँअघि स्थायी राजधानीका विषयमा छलफल भएको मुख्यमन्त्री पौडेलले बताइसकेका छन् । राजधानी टुंग्याउन ढिला भएकाले सहमतिको खोजीको क्रममा प्रधानमन्त्रीसँग छलफल गरिएको बताए । ‘प्रधानमन्त्रीज्यूसँग राजधानी टुंग्याउने सवाल अनुरोध गरेको छु,’ प्रधानमन्त्रीसँगको भेट स्मरण गर्दै उनले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीज्यूले सहमतिको वातावरण बनाउने आश्वासन दिनुभएको छ ।’

नेकपा केन्द्रीय समितिबाट निर्णय गरेर सांसदलाई राजधानी टुंग्याउने सवालमा सबै एकमत हुन अनुरोध गरिने प्रधानमन्त्रीले आश्वासन दिएको उनले बताए । मुख्यमन्त्री पौडेलले तिहारलगत्तै राजधानी टुंग्याउने दाबी गरेका छन् । उनले प्रधानमन्त्रीसँगको छलफलअनुसार हेटौँडा राजधानी कायम हुने र सत्तारूढ दलका सांसदमै मत विभाजित नभई पार्टीको निर्देशनअनुसार अघि बढेमा तिहारलगत्तै प्रदेश संसद्को प्रक्रिया र संविधानबमोजिम राजधानी टुंग्याउने बताए । आजको नयाँ पत्रिका दैनिकमा सुदिप शिवाकोटीले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*