यात्रुसँग बढी भाडा असुल्दै सुमो: मकवानपुरकाे प्रहरी र प्रशासन माैन !

मकवानपुर – हेटौँडा उपमहानगरपालिका १ चौकी टोलको संयुक्त सुमो काउण्टर तथा हेटौँडाको मुख्य सडक, बसपार्क, र बजार वरपर रहेका सुमो काउण्टरमा यात्रुहरुको निकै भिड लागेको देखिन्छ ।
उनीहरु काठमाण्डौ जानका लागि बिहानैदेखि सुमोको पर्खाइमा छन् । थकित अनुहार र सुमोको पर्खाइमा बस्दाको आक्रोश पनि देखिन्छ । तर काउण्टरमा बसेका कर्मचारी र बाहिर टिकटको प्याड बिना बसेका सुमोका दलालहरु यात्रुलाई गलाएर बढी भाडा असुल्ने दाउमा छन् ।
बजार क्षेत्रका सबैजसो काउण्टरबाट दशैँको टिकाको दिनदेखि आइतबारसम्म यात्रु ठग्न छोडिएको छैन । र त्यसलाई मकवानपुर प्रहरी र प्रशासनले रोक्न पनि सकेको छैन ।
सुमोका दलालका अगाडि प्रहरी प्रशासन मौन
चौकी टोलको सुमो काउण्टरमा दशैँ सुरु भएदेखि नै ट्राफिक प्रहरी र अन्य प्रहरी बसेका छन् तर उनीहरुकै अघि प्रत्येक सुमोले एक जना यात्रुसँग सात सयदेखि एक हजार रुपैयाँसम्म भाडा असुल्ने गरेका छन् ।
नेपाल प्रहरीको पोशाकमा बसेका ती प्रहरी देख्दा सबैलाई लाग्छ अब सुमोले ठग्न सक्दैनन् । सुमो दलालहरुका अघि प्रहरी प्रशासन मौनजस्तै देखिन्छ । उनीहरुले प्रत्येक घण्टामा हेटौँडाबाट काठमाण्डौ जाने भाडा दर तोक्छन् । चौकी टोलको संयुक्त सुमो काउण्टरमा मात्र होइन हेटौँडाको मुख्य सडक, चौकी टोल प्रहरी चौकी, भैसे, भीमफेदी, सिस्नेरी, फाखेलसम्म मकवानपुरका प्रहरी सडकमै बसेका हुन्छन् । तर यात्रु ठगिने क्रम भने रोकिएको छैन ।
चाडपर्वमा यात्रु ठगिने आठ वर्षदेखिको श्रृङ्खला रोकिएन
विगतका आठ वर्षमा देशमा संघीयता आयो, स्थानीय र प्रदेश सरकार पनि आए । मकवानपुरमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ), प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पनि धेरै फेरिए । तर टाटा सुमोहरुले चाडपर्वलाई लक्षित गरेर यात्रु ठग्ने क्रम भने अझै रोकिएको छैन ।
मकवानपुरमा गएको आठ वर्षमा धेरै प्रजिअ, एसपी र डीआईजीले बढी भाडा लिनेलाई कारबाही गर्छाैँ भने पनि त्यस्तो हुन सकेको छैन । हेटौँडाबाट काठमाण्डौ झण्डै पाँच सय ओटा टाटा सुमो ओहोरदोहोर गर्छन् । दशैँ, तिहार, छठ लगायतका पर्वमा यात्रु ठगिएकै हुन्छन् ।
ठूला अपराध र ठगी नियन्त्रण गर्ने मकवानपुर प्रहरीले सुमोको ठगी किन रोक्न सक्दैन ?
मकवानपुर प्रहरीले विगतदेखि वर्तमानसम्म कुनै पनि खालका ठगी, चोरी, अपराध नियन्त्रण गर्न सक्रिय भूमिका देखाएको छ । मकवानपुरको भीमफेदी जेल र प्रहरी कस्टडीमा रहेका थुनुवाहरुलाई देख्दा प्रहरीले अपराध नियन्त्रणमा ध्यान दिएको देखिन्छ ।
तर हरेक वर्षको दशैँ, तिहार र छठ पर्वमा ओहोरदोहोर गर्दा मकवानपुरका एक लाख बढी यात्रु टाटा सुमोबाट ठगिने गर्छन् । तर पनि मकवानपुर प्रहरी र प्रशासन किन मौन बस्छ ? भन्ने यात्रुको गुनासो छ । अरु बेला प्रशासनको अनुभूति गर्न पाउने नागरिकले सुमोमा चढेर यात्रा गर्दा भने प्रशासनको अनुभूति कुनै पनि निकायले दिन नसकेको जस्तो देखिन्छ ।
संयुक्त सुमो काउण्टर थोत्रा लुगा सुकाउने ठाउँ र चिया पसल बन्यो
संयुक्त सुमो काउण्टरबाट मात्र टिकट काटेर यात्रु पठाउने निर्णय गरेको मकवानपुरको प्रशासनले त्यो ठाउँमा रहेको चिया पसल र सुकाएको थोत्रा लुगा पनि हटाउन सकेको छैन । यात्रुलाई त्यो ठाउँबाट टिकट दिने त परको कुरा हो ।
यी ठाउँमा खटिएका प्रहरीले त्यही ठाउँबाट टिकट कटाउन भने सकेका छैनन् । काउण्टरमा टिकट लिन जाँदा हरेक यात्रुहरु सुकाएका थोत्रा कपडा र होटल देखेर चकित परेर फर्कने गरेको गुनासो गर्छन् । एक वर्षअघि मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र मेयरले संयुक्तरुपमा संयुक्त सुमो काउण्टरको उद्घाटन गरेका थिए । तर जुन उद्देश्यले त्यो काउण्टर उद्घाटन गरिएको हो, त्यो कार्यान्वयन हुन सकेन ।
यसो गर्दा चाडपर्वमा यात्रु ठगिने क्रम रोक्न सकिन्छ
चाडपर्वको समयमा हेटौँडा र काठमाण्डौ ओहोरदोहोर गर्ने यात्रु ठगिने क्रम रोक्न चौकी टोलको संयुक्त सुमो काउण्टरबाट मात्र टिकट काटेर छुट्ने गराउन सकिन्छ ।
योसँगै काठमाण्डौबाट हेटौँडाका लागि आएका सुमोहरु सबै संयुक्त सुमो काउण्टरमा रोक्नुपर्छ । संयुक्त सुमो काउण्टरबाट अहिले बसेकै ट्राफिक प्रहरीकै रोहवरमा प्रत्येक यात्रुसँग चार सय ५० रुपैयाँका दरले टिकट काटेर पठाउँदा यात्रु ठगिँदैनन् ।
दशैँअघि यही नियम कार्यान्वयन गर्ने भनेर मकवानपुर प्रशासनले निर्णय पनि गरेको थियो तर आफैँले गरेको निर्णय प्रशासनले कार्यान्वयन गर्न सकेन ।
हेटौँडा -काठमाण्डौ रुटका सुमोको मनपरी भाडा असुली, यात्रु मर्कामा
हेटौँडा उपमहानगरपालिका-५, पlप्लेकी मिना श्रेष्ठलाई बिहीबार मकवानपुरको भिमफेदी गाउँपालिकाको देउरालीमा आएपछि टाटा सुमोले दुइजनाको भाडा दुई हजार रुपैयाँ लियो । काठमाण्डौबाट हेटौँडा बजार तर्फ आउने क्रममा बीचमा प्रहरीको झमेला ब्यहोर्नुपर्ला भनेर मकवानपुरमा आएपछि मात्र ना १ ज ४१६६ नम्बरको सुमोले श्रेष्ठसँग बिनाटिकट दुई जनाको भाडा दुई हजार रुपैयाँ लिए ।
काठमाण्डौबाट हेटौँडा आउनका लागि एक जना यात्रुको भाडा चार सय ५० रुपैयाँ ताेकिएकाे छ । तर, दिव्यज्योति नामको सुमोले त्यतिका धेरै भाडा मागेपछि प्रतिवाद गर्दा पनि एक हजार रुपैयाँ नै लिएकाे श्रेष्ठको गुनासो छ ।
काठमाण्डौमा दशैँको टीका लगाएर हेटौँडा फर्कने क्रममा उहाँले बुधबार दिउँसो साढे १२ बजे आफ्ना बुबालाई चढाएकाे मध्य हेटौँडा नामको सुमोले पनि एक हजार रुपैयाँ लिएको बताउनुभयो ।
हेटौँडाबाट बिहीबार छुटेका दर्जनभन्दा बढी सुमो काउन्टरहरुले काउन्टरबाट टिकट नकाटी झण्डै चार सय वटा टाटा सुमोका ४ हजारकाे हाराहारीमा रहेका यात्रुलाई ६ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म भाडा रकम लिए ।
यात्रु ठग्नेमा भाडाका नम्बर प्लेट भएका सुमोसँगै अरु निजी नम्बर प्लेटका सुमोहरु समेत रहेका छन् । चौकिटोलको संयुक्त सुमो काउन्टर, मेनरोड पिपलबोटमा रहेको काउन्टर, बसपार्क, मेनरोडका काउन्टर सबैमा काउन्टरका कर्मचारीले यात्रुसँग मनलाग्दी रुपमा भाडा लिए । सबैजसो यात्रुहरु तोकिएको ४ सय ५० रुपैयाँभन्दा बढी एक हजार रुपैयाँसम्म तिरेर काठमाण्डौ गए । तर, कहीँ कतै प्रहरीले चालकहरुलाई उनीहरुलाई नियन्त्रणमा लिन सकेन ।
एक दिनमा मात्र ४ हजार जना यात्रु ठगिए । यो ठगी घटस्थापनाकाे दिनदेखि नै सुरु भएकाे थियाे । तर, आजका दिन सम्म पनि मकवानपुर प्रहरीले ठगी गर्ने सुमो भेट्न सकेको छैन । यात्रु ठगिने क्रम भने रोकिएको छैन ।
मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ का इन्द्र प्रसाद तिमल्सिनासहित तीन जना काठमाण्डौबाट नवमीको दिन न्यू हाम्रो सुमो सेवाको ना १ ज ७२०१ नम्बरको गाडीमा चढ्नुभयो । उहाँलाई पनि सुमोका मालिक, चालक र काउन्टरका कर्मचारी मिलेर भाडामा ठगी गरे । त्यस सुमोमा एउटै गाडीको भाडा दुईथरीका दरले सुमो काउन्टरमा लिइयो ।
अगाडि सिटमा बस्ने इन्द्र प्रसादलाई एक हजार रुपैयाँ र पछाडि बस्ने श्रीमती र छोरीलाई ८ सय रुपैयाँका दरले सुमोले भाडा लिए । तीन जनाको भाडा २६ सय रुपैयाँ तिर्नुपरेको तिमल्सिनाले बताउनुभयो । हेटौँडाको मेनरोडमै मुख्य कार्यालय रहेको यस सुमोले ठगी गरेको यो पहिलो पटक होइन । काठमाण्डौबाट हेटौँडा आउँदा र हेटौँडाबाट काठमाण्डौ जाँदा यो दशै सुरु र भएदेखि नै हाम्रो सुमो सेवाले यात्रु ठग्ने गरेको गुनासो गरेका छन् ।
टीकाको भोलिपल्टदेखि दुवै तर्फबाट सुमोको ठगी
हेटौँडा–काठमाण्डौ ओहोर दोहोर गर्ने टाटा सुमोहरुले दुवै तर्फबाट यात्रुसँग ठगी गरेका छन् । हेटौँडाबाट काठमाण्डौ जाँदा पनि तोकिएको भन्दा दोब्बर भाडा लिने र काठमाण्डौबाट हेटौँडा आउँदा पनि सुमोले भाडामा ठगी गर्ने गरेका छन् ।
दशैँ अघि घटस्थापनादेखि नवमीको दिनसम्म काठमाण्डौबाट हेटौँडा आउँदा मात्र यात्रु ठगी गरेका सुमोहरुले अहिले हेटौँडाबाट काठमाण्डौ जाँदा र काठमाण्डौबाट हेटौँडा फर्कँदासमेत तोकिएको भन्दा दोब्बर भाडा लिएको टाटा सुमो काउन्टरका एक कर्मचारीले बताए । सबैजसो यात्रुहरुको गुनासो पनि त्यही छ । सुमोले दुवैतर्फ कृत्रिम अभाव सृजना गरेर यात्रुसँग ठगी गरेकाे पाइएको छ ।
एक तर्फबाट रित्तो हिँड्नुपरेको सुमोका मालिकहरुको भनाइ
टीकाको भोलिपल्टदेखि हेटौँडाका सुमो काउन्टरहरुमा यात्रुहरुको भिड छ । काठमाण्डौबाट हेटौँडा आउनेहरु पनि काठमाण्डौको बल्खुमा सुमो कुरेर बसेका छन् । सुमो आइहालेमा यात्रुहरु झम्टिएर सिटमा बस्न खोज्छन् । तर, एक जनाको एक हजार रुपैयाँ भाडा तिर्दा पनि सुमो काउन्टरका कर्मचारीले कुराएर राखेको यात्रुहरुको गुनासो छ ।
यता सुमोका मालिकहरु भने काठमाण्डौबाट रित्तो फर्कनुपरेकाले यात्रुसँग बढी भाडा लिनुपरेको बताउँछन् । कुनै पनि सुमोहरु काठमाण्डौबाट हेटौँडा आउँदा रित्तो आएका छैनन् । भरिभराउ यात्रु लिएर एक जनासँग एक हजार रुपैयाँसम्म असुल गरिरहेका छन् ।
ठगी नियन्त्रण गर्न लाग्दै छौँ: प्रमुख जिल्ला अधिकारी
टीकाको भोलिपल्टदेखि दुवै तर्फबाट टाटा सुमोले ठगी गरेको सुनिन आएकाेले नियन्त्रण गर्ने प्रयास भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताउनुभयो ।
बिहीबारदेखि हेटौँडाको चौकीटोल र भैँसेमा ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले चेकिङ गरेर यात्रु ठगिएको विषयमा बुझ्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
यात्रुहरुको केही गुनासो आएकाले यसको नियन्त्रणको लागि आफूहरु लागिपरेको उहाँकाे भनाइ छ ।। तर, हेटौँडाको चौकीटोलमा भने सुमोले ठगी गरेको विषयमा प्रहरीले कुनै पनि चेकिङ गरेको देखिँदैन ।