हेटौंडामा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अन्तरक्रिया

जनपत्र
२४ मंसिर २०८२, मंगलवार ११:०३

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आयोजना तथा अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयको सहकार्यमा आज हेटौंडामा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिब बाबुराम अधिकारीले भ्रष्टाचार न्युनीकरणमा प्रदेश सरकारले काम गर्ने बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिब बाबुराम गौतमले स्वागत सहित प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका प्रमुख रामकृष्ण पुडासैनीले अहिले देशैभरी, बागमती प्रदेश र स्थानीय तहमा भइरहेका भ्रष्टाचारका प्रक्रिती, अब सचेत हुनुपर्ने विषय, चाल आर्थिक वर्षमा परेका उजुरी लगायतका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

प्रस्तुतीपछीको अन्तरक्रियामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत गौतम, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई लगायतकाले अहिले भइरहेको भ्रष्टाचारको अवस्था र अब न्युनिकरण गर्न सकिने उपायका विषयमा आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रदेशका मन्त्रालयका सचिबहरु, निर्देशनालय, जिल्ला स्तरका कार्यालयका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष डिसेम्बर ९ तारिखका दिन विश्वभर यो दिवस मनाइने गरिन्छ । यसवर्ष भ्रष्टाचार विरुद्ध दिवसको अन्तर्राष्ट्रिय नारा ‘भ्रष्टाचारविरुद्ध युवासँग एकता : भोलिको इमानदारीताको निर्माण’ रहेको छ ।

यस वर्षको नाराले युवालाई नेतृत्वदायी भूमिका खेल्न र समाजमा पारदर्शिता, जिम्मेवारी र इमानदारीको मूल्य बढाउन प्रेरित गरेको छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरेको छ ।

महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर पनि भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*