हेटौंडामा सडक विस्तार गर्ने सरकारी अडान, घरधनी र व्यावसायीहरु प्रतिकारमा उत्रने
हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्रमा राजमार्गको सिमानामा बनेका घरहरु भत्काउने अडानमा सडक डिभिजन कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालय मकवानपुर रहेको छ । यता यहाँका घरधनी र व्यावसायीहरु भने आफ्ना घरहरु भत्काउन आएमा प्रतिकारमा उत्रने तयारी गरिरहेका छन् ।
सडक डिभिजन कार्यालय हेटौंडाले उपमहानगरपालिका क्षेत्र भित्र पर्ने दुइ वटा राजमार्ग क्षेत्रका सडकहरु विस्तार गर्ने बताएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवनराजपथका दुई महत्त्वपूर्ण खण्डलाई स्तरोन्नति गर्दै दायाँ–बायाँ २५–२५ गज चौडाइसम्म सडक विस्तारको तयारी तीव्र पारिएको जानकारी गराएको छ । मंसिर २० गतेबाट सडक सिमामा बनेका घरटहरा भत्काउने बताउँदै आएको छ । अब घरहरु भत्काउने दिन नजिकिदै जाँदा हेटौंडाका घरधनीहरु र व्यावसायीहरु भने दिनहुँ आन्दोलनका कार्यक्रम गर्दै आएका छन् र घरहरु भत्काउन आएमा प्रतिकारमा उत्रने चेतावनी दिन थालेका छन् ।
डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीका अनुसार रातोमोटेदेखि मनहरीको लोथरसम्म पूर्व–पश्चिम राजमार्ग खण्ड अन्तरगत बुद्धचोकदेखि सामरी पुलसम्मको त्रिभुवनराजपथ खण्डमा पर्ने करिब ५३१ वटा घर तथा टहराहरू हटाइने बताए ।
सडक विस्तारका लागि आवश्यक पर्ने निजी संरचनाहरू भत्काउनुपर्ने भन्दै सूचना जारी गरेर कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर र स्थानीय तहसँग समन्वय गरी प्रक्रिया अघि बढाइरहेको अधिकारीले बताए ।
बषौदेखि आफ्नै लालपूजा भएको र नक्सा पास गरेर बनाएको घर विना मुआब्जा त्यसै नछोड्ने घरधनीहरुले बताउँदै आएका छन् । हरेक वर्ष घर र जग्गाको कर पनि तिर्दै आएको र त्यस अनुसार राज्यले सेवा सुविधाहरु दिनुपर्ने ठाउँमा उल्टै भत्काउन आएमा प्रतिकारमा उत्रने घरधनीहरुले चेतावनी दिएका छन् । घर धनी हेटौंडा–२ चौकिटोलका किशोर ढकालले आफ्नो हातमा लालपूर्जा रहेको, वर्षै पिच्छे हेटौंडा उपमहानगरपालिकालाई कर तिर्दै आएको र नक्सा पास गरेर बनाइएका घरहरु भत्काउँदा उचित मुआब्जा दिएर मात्र भत्काइनुपर्ने बताए ।हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडा बुद्ध चोक हुँदै राप्ती पुलसम्म र बुद्ध चोकदेखि सामरी पुलसम्मको सडक सीमा खाली गरिने बताए । करिब ९।५ किलोमिटर सडक क्षेत्रभित्र रहेका २ बैंक, ३ पेट्रोल पम्पसहित अन्य भौतिक संरचनाहरू हटाउनुपर्ने उनले उल्लेख गरे ।
हाल महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गतको दायाँ–बायाँ २५र२५ गजभित्र पर्ने घरहरू भत्काइनेछन् । जसमध्ये सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ घरटहरा पर्ने उनको भनाइ छ । महेन्द्र राजमार्गको ६।३ किलोमिटर सडक क्षेत्रमा नेपाल बैंक, हिमालयन बैंक र ३ वटा पेट्रोल पम्प रहेकाले ती पनि भत्काइने उनले बताए ।
ती संरचनाहरू भत्काउँदा राज्यले मुआब्जा वा क्षतिपूर्ति दिन नपर्ने पनि उनले जानकारी दिए । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पनि सडक विस्तार अपरिहार्य रहेको उनको भनाइ छ । यसअघि गत मंसिर ५ गते सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै उक्त सीमा क्षेत्रभित्र पर्ने संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो ।








