हेटौंडा सडक विस्तारविरुद्ध स्थानीय घरधनीहरू आन्दोलनमा, घर र जग्गाको क्षतिपूर्ति दिएर मात्र भत्काउन आग्रह

जनपत्र
१७ मंसिर २०८२, मंगलवार १८:२९

हेटौंडा । हेटौंडामा सडक विस्तारको विरोधमा यहाँका घरधनीहरुले आजबाट सडक आन्दोलनमा उत्रिएका छन् । बिना मुआव्जा र क्षतिपूर्ति आफ्ना व्यक्तिगत सम्पति भत्काउन लागिएको भन्दै उनिहरुले आज हेटौंडाको मुख्य बजार क्षेत्रमा आन्दोलन गरेका हुन् ।

हेटौंडाको रापतीरोड, मेनरोड लगायतका क्षेत्रमा नारा, जुलुस गर्दै आन्दोलनमा होमिएका थिए । यता अपरान्ह पत्रकार सम्मेलन गर्दै घर र जग्गाको क्षतिपूर्ति दिएर मात्र भत्काउन आग्रह गरेका थिए । भोली बाट निरन्तर रुपमा सडक आन्दोलनका कार्यक्रम गरिने घरधनी तथा व्यावसायीहरुले बताएका छन् ।

पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्ने सरकारी तयारीको विरोधमा स्थानीय घरधनीहरू आन्दोलित भएका छन्। सडक सीमाभित्र पर्ने संरचना भत्काइने सूचनापछि मंगलबार बिहानैदेखि आक्रोशित स्थानीयहरूले मुख्य बजार क्षेत्रमा प्रदर्शन सुरु गरेका हुन्।

सरकारले राजमार्गको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५–२५ गज सडक विस्तार गर्ने योजना अघि सारेपछि स्थानीय बासिन्दाहरू विरोधमा उत्रिएका हुन्। उनीहरूले उचित मुआब्जाको माग गर्दै ‘नागरिकलाई उठिबास लगाउन पाइँदैन’, ‘बिना विकल्प डोजर आतंक बन्द गर’, ‘व्यवसायीको उचित व्यवस्थापन गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए।

यता घरधनीका तर्फबाट आन्दोलनको अग्रपंतिमा रहेका मकवानपुर उद्योग बाणिज्यसंघका पूर्व अध्यक्षहरु राजकुमार न्यौपाने, भुवनलाल श्रेष्ठ, स्थानीय घरधनी प्रकास ढकाल, केदार प्रसाद न्यौपाने लगायतकाले भने आज अपरान्ह पत्रकार सम्मेलन गर्दै बिना क्षतिपूर्ति घरहरु भत्काउन नदिने चेतावनी दिएका छन् । साथै भोलीबाट आन्दोलनका कार्यक्रम गरिने समेत उनीहरुले बताएका छन् ।

२५ गज चौडाइमा सडक विस्तार गरे सयौँ घर भत्किने र नागरिक सुकुम्बासी हुने भन्दै उनीहरूले संविधानले प्रदत्त सम्पत्ति अधिकार सुनिश्चित गर्न माग गरे। बजार क्षेत्रमा सडक चौडाइ १६ मिटर कायम गर्नुपर्ने वा विकल्पस्वरूप बाइपास सडक प्रयोग गर्नुपर्ने उनीहरूको माग छ। साथै, भत्काइने संरचनाको उचित मुआब्जा र क्षतिपूर्ति सुनिश्चित नभएसम्म डोजर चलाउन नदिने हेटौंडा–२ चौकिटोलका घरधनी किशोर ढकालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*