मकवानपुरमा गोली हानी पुजारीको हत्या, ७५ वर्षीय अभियुक्त पक्राउ

जनपत्र
३० कार्तिक २०८२, शनिबार ०७:०६

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारी ६४ वर्षीय ठूले गोलेको शुक्रबार बिहान गोली प्रहार गरी हत्या गरिएको छ । बिहान ९ बजेर ५२ मिनेटतिर भएको घटनामा गोलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

पुजारी गोलेमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय इमान सिंह थोकरलाई नियन्त्रणमा लिएको छ । घटनापछि खटिएको प्रहरी टोलीले उनको साथबाट एक थान कटुवा पेस्तोल, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, एक थान खोका र १९० ग्राम गन पाउडर बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार पुरानो रिसईबीका कारण थोकरले गोलेलाई गोली हानेको प्रहरीको भनाइ छ।

घटनाको जानकारी पाएका साथमै इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट टोली खटिएको थियो। सादा पोशाकसहितको प्रहरी टोलीले थोकरलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*