ट्रक पल्टिँदा हेटौंडा–काठमाण्डौं जोड्ने कान्तिलोकपथ अवरुद्ध
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा बाटो पूर्णरूपमा अवरुद्ध भएको छ।
आज बिहान बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डीमा चिप्लिएर अनियन्त्रित भई बीच सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
जानकारी प्राप्त हुनासाथ अप्रहरी पोष्ट जितपुरभञ्याङबाट प्रभारी प्रहरी सहायक निरीक्षक सुरेन्द्र दरैको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक जानकारीअनुसार मानवीय क्षति भने भएको छैन।
दुर्घटनाका चालक समिर तामाङ बारा–कोल्बी नगरपालिकाको प्रहरी सम्पर्कमा रहेका छन्। पल्टिएको ट्रक हटाउन क्रेनसँग समन्वय भइरहेको र केहीबेरमा यातायात सुचारु हुने प्रहरीले जनाएको छ।
उक्त स्थान अप्रहरी पोष्ट जितपुरभञ्याङबाट करिब ४ किलोमिटर पूर्व पर्छ। विस्तृत विवरणपछि सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ।





