बागमती प्रदेशमा २२ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण

जनपत्र
१३ बैशाख २०८२, शनिबार ०७:०२

हेटौँडा / बागमती प्रदेशमा २२ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण भएका छन्। बागमती प्रदेश सरकारले गत आव ०७९/८० को बजेटमा समावेश गरिएको ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ कार्यक्रमअन्तर्गत हालसम्म २२ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण गरेको हो।

सरकारले प्रदेशभित्र पशु स्वास्थ्य सेवा पुग्न नसकेका ३० स्थानमा पशु स्वास्थ्य क्लिनिक स्थापना गर्ने निर्णय गरे पनि ४ स्थानमा भने विभिन्न कारणले निर्माण रोकिएको छ भने ४ वटा निर्माणाधीन छन्।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म चितवनमा ४ वटा, मकवानपुरमा ३ वटा, सिन्धुलीमा २ वटा, रामेछापमा २ वटा, दोलखामा ३ वटा, सिन्धुपाल्चोकमा ३ वटा र काभ्रेमा ५ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण गरिसकेको मन्त्रालयका पशुपन्छी विकास महाशाखाका पशु अधिकृत डा. सुवास क्षेत्रीले जानकारी दिए।

उनका अनुसार बागमती प्रदेशको धादिङ जिल्लामा भने ४ वटा पशु स्वास्थ्य क्लिनिक निर्माणाधीन रहेका छन्। धादिङमा निर्माणाधीन पशु स्वास्थ्य क्लिनिकको भवन निर्माण पनि अन्तिम चरणमा पुगेको डा. क्षेत्रीले बताए।

३० स्थानमा पशु स्वास्थ्य क्लिनिक निर्माण गर्ने प्रदेश सरकारको तयारी रहे पनि ललितपुर जिल्लामा ठेक्का नै नपरेको र नुवाकोट जिल्लामा आवश्यक जग्गा उपलब्ध नहुँदा निर्माण रोकिएको उनले बताए।

प्रदेशमा पशुपन्छीको संख्या बढी भएको ठाउँ र भेटेरिनरी विज्ञ केन्द्रको पहुँचबाट टाढा रहेका गाउँमा क्लिनिक स्थापना भएको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जानकारी दिए।

‘क्लिनिकमा एकजना पशु स्वास्थ्य प्राविधिकसहितका कर्मचारी रहनेछन्‚’ कँडेलले भने, ‘यहाँ पशुपन्छीको सबैखालको उपचार उपलब्ध हुनेछ।’ क्लिनिक स्थापना भएपछि प्रदेशका विकट ग्रामीण भेगका किसान लाभान्वित हुने उनले बताए।

पशु स्वास्थ्य क्लिनिक निर्माणका लागि छुट्ट्याइएको १५ करोड रुपैयाँको बजेटमा एउटा पशु स्वास्थ्य क्लिनिक निर्माणमा ५० लाख खर्च भएको प्रवक्ता कँडेलले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*