मनहरीमा पाँच पक्की पुल निर्माण

जनपत्र
२९ चैत्र २०८१, शनिबार ०७:२५

हेटौँडा । सङ्घीयता लागु भएपछि स्थानीय तह आफैँले विकास निर्माणका काम अघि बढाउन सक्छन् भन्ने प्रमाण मकवानपुरको एक स्थानीय तहले पुष्टि गरिदिएको छ । यहाँस्थित मनहरी गाउँपालिकाले सङ्घीय र प्रदेश सरकारको लगानीबिनै पाँच वटा पक्की पुल निर्माण गरेर स्थानीयको मन जितेको हो ।

अघिल्लो सरकारकै पालामा सुरु भएका पाँच वटा पक्की पुलमध्ये गत आर्थिक वर्षमा तीन वटा र यस आवमा एउटा पुल निर्माण सम्पन्न भएको छ । एउटा पुल आगामी वैशाख मसान्तसम्ममा निर्माण सम्पन्न हुने गरी काम अघि बढिरहेको मनहरी गाउँपालिकाको भौतिक पूर्वाधार शाखाले जानकारी दिएको छ ।

गत आवमा मनहरी गाउँपालिका–३ र ४ जोड्ने ट्वाङ्ग्राखोला पुल र मसिनेखोला पुल निर्माण सम्पन्न भएको थियो । त्यसै गरी वडा नं. १ र २ जोड्ने च्यापलखोला पुल पनि गत आवमै निर्माण सम्पन्न भइसकेको छ । चालु आव २०८१÷८२ को कात्तिक मसान्तमै वडा नं. ३ स्थित ठाडोखोला पुल निर्माण भइसकेको मनहरी गाउँपालिका प्राविधिक शाखाका सबइन्जिनियर टुकराज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं. ३ मै रहेको हाँडीखोलामा निर्माणाधीन पुल पनि आगामी २०८२ वैशाख मसान्तसम्ममा सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ ।

गाउँपालिकाले दिएको जानकारी अनुसार हाल निर्माणाधीन हाँडीखोला पुलको लम्बाइ ३५ मिटर र एक स्पानको रहेको छ । कुल पाँच करोड ३५ लाख ५१ हजार ५२५ रुपियाँ लागतमा भैरवनारायण ज्ञानेश जेभी निर्माण कम्पनीले पुल निर्माणको काम गरिरहेको छ ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तमा सम्पन्न भएको वडा नं. ३ को ठाडोखोलाको पक्की पुल तीन स्पान रहेको र ९० मिटर लामो रहेको छ । त्यसै गरी अघिल्लो आवमा निर्माण भएका मनहरी–३ र ४ जोड्ने मसिने खोला पुल दुई स्पानको ७० मिटर लामो रहेको छ भने सोही वडा जोड्ने ट्वाङ्ग्राखोला पुल दुई स्पानको ६० मिटर रहेको गाउँपालिकाले जनाएको छ । वडा नं १ र २ जोड्ने च्यापलखोलामा बनेको पुल तीन स्पानमा ९० मिटर लामो रहेको सबइन्जिनियर चौधरीले जानकारी दिनुभयो ।

गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत प्रयोग गरी पुल निर्माण गरेको हो । स्थानीय सरकारको अघिल्लो नेतृत्वले सुरु गरेका पाँच वटा पक्की पुल निर्माण हुँदा ३४ करोड रुपियाँ लगानी रहेको छ । आव २०७७/७८ बाट पुल निर्माण प्रव्रिmया सुरु गरिएको थियो । चार वर्षको अवधिमा सबै पक्की पुल निर्माण गरी गाउँपालिकालाई बलियो भौतिक संरचनायुक्त बनाइएको अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो ।

पक्कीपुल निर्माणका लागि सबै स्रोत स्थानीय सरकारले नै बेहोरोको उल्लेख गर्दै अध्यक्ष कालाखेतीले भन्नुभयो, “सङ्घीयतापछि घरघरै सिंहदरबार आउँछ भन्ने भाष्यलाई हामीले कामबाटै पुष्टि गरेका छौँ ।” पुल निर्माणपछि आवागमन सहज हुनुका साथै किसानले उत्पादन गरेका तरकारी बाह्य बजारमा लैजान सजिलो भएको पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले बताउनुभयो । गोर्खापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*