राक्सिराङ गाउँपालिकामा मनमोहक जलपरी झरना र चमेरो गुफा

जनपत्र
१६ चैत्र २०८१, आईतवार ०७:५२

मकवानपुर – मकवानपुरको दुर्गम क्षेत्रमा अवस्थित राक्सिराङ गाउँपालिका ३ मा रहेको जलपरी झरना तथा चमेरो गुफा सुरक्षित र आकर्षक पिकनिक स्पटको रूपमा विकसित हुँदै गएको छ।

यहाँ रहेको जलपरी झरना परिसरमा घुम्न आउने पर्यटक र वनभोज खान आउने स्थानीय बासिन्दाको सङ्ख्या बढ्दै गएको राक्सिराङ गाउँपालिका ३ नम्बरका वडाध्यक्ष उत्तम वाइबा बताउनुहुन्छ। प्राकृतिक झरना र चमेरो गुफा घुम्न रमाउनेका लागि दुई वर्षअघि राक्सिराङ गाउँपालिकाले पिकनिक पार्कको निर्माण गरिदिएको हो।

वनभोजका लागि टहरा निर्माणसँगै सहज बाटा निर्माण गरेर जलपरी झरनासम्म पुग्ने, फोटो खिच्ने, गुफा पस्ने लगायतका स्थानमा पुग्ने बाटोको सहज व्यवस्थापन गरिएको छ। एकैपटक पाँच वटा समूहले वनभोज सञ्चालन गर्नसक्ने गरी टहरा निर्माण भएको र घुम्नका लागि जलपरी र चमेरा गुफामा पर्याप्त स्थान रहेको पार्कको व्यवस्थापन गरिरहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङले बताउनुभयो।

अहिले पार्कभित्र बुद्धको मूर्ति, बाघ र मृगको खाद्य शृङ्खला झल्कने मूर्ति, सालकको मूर्ति स्थापना भएको छ। जलपरी झरनामा जलपरीको मूर्तिसमेत राख्ने तयारी छ।

जलपरी झरना तथा चमेरो गुफा पार्क क्षेत्रमा छिट्टै बिजुलीको व्यवस्थापन गरी नजिकै होमस्टे समेत निर्माण गर्नेगरी योजना निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो। गोर्खापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*