बागमती प्रदेशका सामुदायिक विद्यालयमा बस सञ्चालनमा आएपछि कक्षा छुट्ने समस्या हट्यो

जनपत्र
२२ फाल्गुन २०८१, बिहीबार ११:३७

हेटौंडा । मकवानपुर भीमफेदी गाउँपालिका–६ जुरिखेतका तुलबहादुर थापालाई विद्यालय जान सधैं हतार हुन्थ्यो । चाँडै खाना खाएर फटाफट हिँड्दा पनि समयमा स्कुल पुग्न उनलाई हम्मेहम्मे पर्थ्यो । उनको घरबाट विद्यालयसम्म पुग्न करिब २ घण्टा हिँड्नुपर्थ्यो ।

भीमफेदीकै मान्डुकी सरस्वती लामालाई पनि घरदेखि विद्यालयसम्म पुग्न झण्डै साढे एक घण्टा लाग्थ्यो । कहिलेकाँहि त उनी पुग्दासम्म पढाई नै सुरु भइसकेको हुन्थ्यो । कैयौंपटक उनी गेटबाटै फर्किएकी छिन् ।

स्कुलले १० बजेपछि मुलगेटमा नै ताला लगाइदिने गरेको छ । १० बजेपछि शिक्षक, विद्यार्थी जो ढिला आए पनि गेटबाट फर्किनुपर्छ । यो समस्या तुलबहादुर र सरस्वतिको मात्रै होइन । भीमफेदी गाउँपालिकाका देउराली, चिसापानी, दमार, पान्द्राङ, धोर्सिङ्, गोल्पिङवेसी, आपचौर, माण्डु, गडेली, जुरिखेत, उर्लाघारी, धुसेनीलगायत क्षेत्रका विद्यार्थीहरुको हो ।

अहिले भने उनीहरुको यो समस्या समाधान भएको छ । भीमफेदी गाउँपालिका–६ भीमफेदी बजारमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको २५ लाख सहयोगमा ४२ सिटे बस सञ्चालनमा आएपछि उक्त विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्कुल आउजाउ गर्न सहज भएको छ।

सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले सामाजिक विकास मन्त्रालयले विद्यालय बस सेवा अनुदान कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयलाई बस सहयोग गर्दै आइरहेको छ । आव २०७६र७७ देखि मन्त्रालयले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सुविधाको लागि बस सेवा सञ्चालन गर्न प्रतिविद्यालय २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

मन्त्रालयका सचिव बद्रीनाथ गैरेका अनुसार प्रदेशका १३ जिल्लामध्ये धेरै विद्यार्थी हुने, टाढाबाट आउनुपर्ने अवस्था भएका विद्यालयको मापदण्ड हेरेर बस सेवा सञ्चालन गर्न २५ लाख रुपैयाँ उपलब्ध गराएको हो । सामुदायिक विद्यालयमा बस सेवाले शैक्षिक गुणस्तरलाई समेत सहयोग पुर्‍याउने अपेक्षा सरकारले लिएको छ । स्कुलमा बसको सुविधा भएपछि विद्यार्थी थकित पनि नहुने र पढाईमा पनि असर नगर्ने मन्त्रालयको विश्वास छ ।

सामाजिक विकासमन्त्री हरिप्रभा खड्कीले विद्यालयमा बस सेवा सञ्चालन भएपछि टाढाका विद्यार्थीको कक्षा छुट्ने समस्या समाधान भएको बताइन् । मन्त्रालयले हालसम्म ९७ वटा विद्यालयलाई बस खरिद गर्न २५र२५ लाख रुपैयाँ पठाइसकेका छन् । अपुग रकम विद्यालय आफैंले थपेर बस खरिद गरी सञ्चालनमा ल्याएका छन् ।

सबैभन्दा धेरै मकवानपुरका २४ वटा सामुदायिक विद्यालयमा स्कूलबस सञ्चालनमा छन् । त्यसैगरी काभ्रेपलाञ्चोकका १४ वटा , सिन्धुलीमा ५, सिन्धुपाल्चोकमा ७, चितवनमा ८ र धादिङका ८ वटा सामुदायिक विद्यालयहरुमा बस सञ्चालनमा छन् । यसैगरी काठमाडौंमा ८, ललितपुरमा ३ , भक्तपुरमा ३, दोलखामा ४, नुवाकोटमा ७, रामेछापमा ३ र रसुवामा २ वटा सामुदयिक विद्यालयमा बस सञ्चालनमा आइरहेका छन् ।

सामाजिक विकास मन्त्रालयले चालु आव २०८१र८२ का लागि थप २३ वटा विद्यालयहरुमा बस सञ्चालन गर्नका लागि २५र२५ लाख रुपैयाँ पठाइसकेको शिक्षा निर्देशानलयका निर्देशक खुविराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार चालू आवमा काठमाडौंमा २, दोलखामा २, धादिङमा २, नुवाकोटमा २, भक्तपुरमा २, मकवानपुरमा २, रामेछापमा २, ललितपुरमा २, सिन्धुपाल्चोकमा १, सिन्धुलीमा १, काभ्रेपलाञ्चोकमा २, चितवनमा २ र रसुवामा १ वटा बस सञ्चालन लागि २५र२५ लाख रुपैयाँ निकासा गरिसकेको छ ।

सामुदायिक विद्यालयमा बस सञ्चालनमा आएपछि पढाई पनि गुणस्तरीय बन्दै गएको र विद्यालयमा विद्यार्थीको उपस्थिति बढेको थाहा नगरपालिकाका मेयर विष्णु विष्ट बताउँछन् । थाहा नगरका अधिकांश सामुदायिक विद्यालयमा बस सञ्चालनमा छन् । कान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*