हेटौँडा उपहानगरपालिकालाई बालमैत्री नगर घोषणा गरिदै

हेटौंडा । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडालाई आज बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिने भएको छ । उपमहानगरपालिकाको ५६ औँ स्थापना दिवस पारेर बालमैत्री नगर घोषणा गर्न लागिएको हो ।
मकवानपुरका १० पालिकामध्ये मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका यसअघि नै बालमैत्री पालिका घोषणा भइसकेका छन् । हेटौँडा जिल्लाको चौथो पालिकाको रूपमा बालमैत्री घोषणा हुन लागेको हो । हेटौंडालाई बालमैत्री नगर घोषणाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।
मेयर लामाका अनुसार आज नेपाल सरकारका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिनेछ ।
बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र घोषणा कार्यविधि, २०७९ मा आधारित भई आवश्यक सबै सूचक पूरा गरेको नगरप्रमुख लामाले बताइन् । उनले बालमैत्री घोषणा कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।
नगरका उपमेयर राजेश बानियाँले हेटौंडा उपमहानगरपालिकाले घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४३ सूचकमा शतप्रतिशत नतिजा प्राप्त गरेको जानकारी दिए । उनले १९ वटा वडा रहेको हेटौँडा उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार १९५ बालबालिका रहेका बताए ।
बालमैत्री घोषणा गर्ने अवसरमा हेटौंडा उपमहानगरभित्रका शैक्षिक संस्था भोलि बन्द हुने भएका छन् । कार्यक्रमका लागि उपमहानगरभित्रका सम्पूर्ण निजी तथा सामुदायिक शैक्षिक संस्थासहित स्वास्थ्य संस्था र वडा कार्यालयहरू बन्द हुने भएको हो ।