मकवानपुरका विज्ञान शिक्षकका लागि प्रश्नपत्र निर्माण सम्बन्धी तालिम

हेटौंडा । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको आयोजनामा आधारभूत तह तथा माध्यमिक तहको एक दिवसीय प्रश्नपत्र निर्माणसम्बन्धी तालिम सम्पन्न भएको छ । हेटौंडाको सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम भएको हो । मकवानपुर जिल्लाका ६३ जना विज्ञान शिक्षकहरूले सहभागिता जनाएको उक्त कार्यक्रममा सहजीकरण विज्ञान शिक्षकहरू भरत पोखरेल, दुर्गा पराजुली, खेम बिक र ओम प्रकाश सापकोटाले गर्नुभएको थियो।
आधारभूत तह र माध्यमिक तह गरी दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको तालिमबाट विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गर्न ध्यान पुर्याउनुपर्ने कुराहरू, संज्ञानात्मक तहहरू पहिचान गरी त्यस अनुसार प्रश्नपत्र निर्माण गर्ने सीपको विकास र प्रश्नपत्र निर्माणपूर्व तय गर्नुपर्ने नमुना मेट्रिक्स निर्माण लगायतका विषयमा प्रशिक्षार्थीहरू प्रशिक्षित भएको विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका सचिव सुवास खनालले बताउनुभयो।
कार्यक्रमको समापन समारोह विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षता , जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख अतिथ्यता र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुदिप गिरीको विशिष्ट अतिथितामा सम्पन्न भएको थियो।
उक्त समापन कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सागरप्रसाद खतिवडा, विज्ञान शिक्षकहरू रामकुमार ठाकुर, विनोद प्रसाद गुप्ता, मनिल कुमार कर्ण , ग्यालेक्सी बुक्स सेन्टरका अमृत मगर, लिंकेज टेक्निकल एकेडेमीका कमल कोइराला लगायतको आतिथ्यता रहेको थियो।
प्रशिक्षार्थीहरूको तर्फबाट गीतावर आधारभूत विद्यालय बकैया ५ की अमृता लामिछाने र मत्स्यनारायण मावि थाहा नगरपालिकाका राजेश तिमल्सिनाले धारणा राख्दै यस्ता कार्यक्रमहरु निरन्तर आयोजना भइरहनुपर्ने बताउनुभएको थियो। कार्यक्रमको अन्त्यमा प्रशिक्षक तथा सहभागीहरूलाई प्रमुख अतिथिले प्रमाणपत्र वितरण गर्नुभएको थियो।