हेटौंडा उपहानगरपालिकाको १९ वटै वडा बालमैत्री घोषणा

जनपत्र
२५ माघ २०८१, शुक्रबार १७:३७

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा बालमैत्री घोषित भएको छ । शुक्रबार १४ नम्वर वडालाई बालमैत्री घोषणा गरेसँगै सबै वडा निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भएको हो ।

ती सबै वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री घोषणा र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले तोकेका ५१ वटा सूचक पूरा गरेर बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित गरेको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराको साथ १४ नम्वर वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । बालमैत्री घोषणा कार्यक्रम हेटौंडा–१४, स्थित भुकुटी माध्यमिक विद्यालयमा भएको हो ।

कार्यक्रम १४ नम्वर वडाध्यक्ष दिपक खड्काको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि लामाले बालमैत्री घोषणालाई दिगो रुपमा सार्थकता दिने गरी काम गर्न अनुरोध गरिन् ।

कार्यक्रममा उपमेयर राजेश बानियाँ, जनप्रतिनिधी, विद्यार्थी, शिक्षक लगायत विभिन्न संघसंस्थाको प्रतिनिधीहरुको उपस्तिथि रहेको थियो । १९ वडा रहेको हेटौंडामा १८ वटा वडा यसअघि नै बालमैत्री वडा घोषित भइसकेको थियो ।

१४ नम्वर वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्षभन्दा कम उमेर समूहका २ हजार ४ सय ९४ जना बालबालिका रहेका छन् । जसमा १ हजार २ सय ६७ बालक र १ हजार २ सय २७ बालिका रहेका छन् ।

यस्तै, वडामा सामुदायिक, संस्थागत र बाल विकास केन्द्रसहितका ६ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । यसैगरी, समुदाय स्तरमा २२ वटा बाल समूहरु, १ वडा बाल सञ्जाल रहेको छ । जसमा ५ सय ५० जना बालबालिकाहरु आबद्ध रहेका छन् ।

त्यस्तै, विभिन्न संरचनात्मक समितिहरुमा समेत गरी ५ सय ७० जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ । सो अभियानमा १२ वटा बाल विवाह रोकिएको छ भने विभिन्न बाल श्रमिकको उद्वार गरी पारिवारिक मिलन समेत गरिएको छ । यसअघि सो वडालाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएकोछ ।

उक्त वडाको कुल क्षेत्रफल १६ दशमलव ३२ वर्ग किलोमिटर रहेको छ । यस वडाको पूर्वी सिमाना हेटौंडा–१५, पश्चिम सिमाना हेटौंडा–१३, उत्तर सिमाना हेटौंडा–९ र दक्षिण सिमाना पर्सा राष्ट्रिय निकुञ्ज पर्दछ । यस वडाका अधिकाशं भागहरु ग्रामीण स्तरका छन् । तुखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*