हेटौंडामा स्वास्थ्य अनुसन्धानमा नैतिकता विषयमा दुईदिने तालिम सकियो
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसन्धान कमिटि र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको संयुक्त आयोजनामा स्वास्थ्य अनुसन्धानमा नैतिकता विषयमा दुईदिने तालिम हेटौंडामा सकिएको छ ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका डाक्टर इन्दिरा अधिकारी पौडेल तथा प्रष्ठिानका उपकुलपति डाक्टर प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा विशेष अतिथिका रुपमा डाक्टर प्रमोद जोशी, सदस्य सचिव, नेपाल स्वास्थ्य अनुसन्धान परिषद साथै, अतिथिहरू प्रतिष्ठानका रजिष्टार भिमसागर गुरागाईं, प्राध्यापक दुर्गा कुमारी खड्का रहनु भएको थियो । तालिममा प्रतिष्ठानका विभिन्न विभागका ३५ जना सहभागीहरूले भाग लिएका थिए।
तालिमको सहजीकरण नेपाल स्वास्थ्य अनुसन्धान परिषदका विज्ञ र चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन, प्राध्यापक डाक्टर मोहन राज शर्माले गर्नुभएको थियो।
कार्यक्रमको उद्देश्य रिसर्च सदस्यहरूलाई नियम, विनियम, मार्गदर्शन र स्वास्थ्य अनुसन्धानमा नैतिकता बारेमा जानकारी दिनु, स्वास्थ्य अनुसन्धानको नैतिक समीक्षा प्रक्रियामा ज्ञान र सीपलाई सुदृढ गर्नु, स्वास्थ्य अनुसन्धानको प्रस्ताव विकास र सञ्चालनको दौरानमा सिकेका नैतिकता सम्बन्धी ज्ञानलाई कार्यान्वयन गर्नु र स्वास्थ्य अनुसन्धानमा नैतिकताको आधारभूत सिद्धान्तहरूलाई अपडेट गर्नु थियो।
यस तालिमले स्वास्थ्य अनुसन्धानमा नैतिक अभ्यासलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने र आगामी दिनमा यस्ता तालिमहरूको निरन्तरता सुनिश्चित गर्ने प्रतिबद्धता कार्यक्रमका प्रमुख अतिथि उपकुलपति डा।प्रदिप ज्ञवालीले व्यक्त गर्नुभयो।








